पवनदीप राजन र पूर्ण राईको सांगीतिक प्रस्तुतिको तयारी तीव्र, दोस्रो समन्वय बैठक सम्पन्न
पवनदीप राजन र पूर्ण राईको सांगीतिक प्रस्तुतिको तयारी तीव्र, दोस्रो समन्वय बैठक सम्पन्न


गान्तोक, 14 नोभेम्बर (हि.स.)। आगामी २१ नोभेम्बरको साँझ गान्तोकस्थित पाल्जर स्टेडियममा आयोजना हुने चर्चित गायक पवनदीप राजन र पूर्ण राईको विशेष सांगीतिक प्रस्तुतिको तयारीलाई तीव्रता दिँदै दोस्रो समन्वय बैठक आज गान्तोकमा सम्पन्न भयो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको सभाध्यक्षतामा सम्पन्न बैठकमा कार्यक्रमको समग्र तयारी, प्रभावकारी समन्वय तथा व्यवस्थित र सफल सञ्चालनका विभिन्न पक्षमाथि विस्तृत छलफल गरिएको छ।

बैठकमा कार्यकारिणी समितिका अध्यक्ष एवं मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, उपाध्यक्ष सञ्जय दिलपाली राई, कार्यक्रम समन्वयक स्टेफनराज कार्की, स्टेज, साउन्ड तथा लाइटिङ समन्वयक रिवाज छेत्री, स्वागत समन्वयक कर्मा ताम्लिङ, स्टल प्रभारी भवानी शर्मा, कलाकार समन्वयक प्याट्रिक प्रधान, आतिथ्य सत्कार समन्वयक सुवर्णा प्रधान, प्रचारप्रसार तथा बजार व्यवस्थापन समन्वयक आयशा लिम्बू, सञ्चारमाध्यम तथा प्रचारप्रसार समन्वयक रञ्जना प्रधान र बुद्ध लेप्चा लगायतको उपस्थिति रहेको थियो।

बैठकमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र स्मरणीय बनाउन विभिन्न जिम्मेवारी अन्तर्गत भइरहेका तयारीको समीक्षा गर्दै आवश्यक समन्वय र व्यवस्थापनका विषयमा छलफल गरिएको बताइएको छ। साथै दर्शक तथा सहभागीहरूलाई सहज र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रमका सबै पक्षलाई चुस्त र प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande