
- मध्यप्रदेशको धार जिल्लामा १,३५८ करोड़ रुपियाँको सिँचाइ परियोजनाको उद्घाटन, जनजातिय सम्मेलनमा भर्चुअल रूपमा सहभागी भए प्रधानमन्त्री मोदी
धार, १५ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले जनजातिय समाजले सधैँ अन्याय विरुद्ध आवाज उठाउँदै आएको बताएका छन्। एक समय यस्तो थियो, जब देशमा विभिन्न दिवस तथा उत्सवहरू विदेशी दृष्टिकोणका आधारमा तय गरिन्थे। तर आज भारतले आफ्नो विरासत, इतिहास र नायकहरूलाई स्वदेशी स्वाभिमानका साथ स्मरण गरिरहेको छ। यो हाम्रो राष्ट्रिय चेतनामा आएको ठूलो परिवर्तनको प्रतीक भएको उनले बताए।
प्रधानमन्त्री मोदीले आइतवार जननायक भगवान बिरसा मुण्डाको जयन्ती तथा जनजातिय गौरव दिवसका अवसरमा आयोजित कार्यक्रमहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरिरहेका थिए। यस अवसरमा मध्यप्रदेशको धार जिल्ला स्थित डहीमा आयोजित राज्यस्तरीय समारोहमा राज्यपाल मंगुभाई पटेल, मुख्यमन्त्री डा. मोहन यादव तथा केन्द्रिय महिला एवं बाल विकास राज्यमन्त्री सावित्री ठाकुर विशेष रूपमा उपस्थित थिए।
भारतका ५० करोड़ मानिस चरम गरिबीबाट बाहिरिए
प्रधानमन्त्री मोदीले १५ नोभेम्बर २०२१ देखि जनजातिय गौरव दिवस मनाउने जुन शुरुआत गरिएको थियो, त्यो आज राष्ट्रिय उत्सव बनिसकेको बताए। उनले देशका दुई ठूला उपलब्धीहरूको चर्चा अहिले सर्वत्र भइरहेको बताए। पहिलो उपलब्धि देशका लगभग ५० करोड़ मानिसलाई चरम गरीबीबाट बाहिर निकाल्नु रहेको उनले उल्लेख गरे।
उनले विश्व ब्याङ्कको प्रतिवेदन अनुसार विगत १२–१३ वर्षमा भारतका ५० करोड़ मानिस चरम गरीबीबाट बाहिर आएको बताए। यो स्वतन्त्रतापछिको देशको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ थियो। यसका पछाड़ी समाजको सामूहिक शक्ति र देशका प्रत्येक नागरिकको परिश्रम रहेको उनले बताए। सरकारले जनजातिय कल्याणका लागि लिएका निर्णय तथा ल्याएका योजनाहरूको परिणामस्वरूप यो उपलब्धि हासिल भएको उनले उल्लेख गरे।
प्रधानमन्त्रीले गरीबीलाई परास्त गर्न आम्दानीका अवसरहरू बढ़ाउनु पनि आवश्यक रहेको बताए। मुद्रा योजना मार्फत लाखौँ–करोड़ौं रुपियाँको आर्थिक सहयोग प्रदान गरिएको र यसबाट जनजातिय समुदायका दाजुभाइहरूले पनि लाभ प्राप्त गरेको उनले बताए। यसले उनीहरूमा अगाड़ी बढ्ने आत्मविश्वास जगिएको उनको भनाइ थियो। देशका १०० भन्दा बढ़ी आकांक्षी जिल्लाहरूमा विकास, सुविधाहरू तथा नागरिकको अधिकारको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको पनि उनले बताए।
नक्सलवादबाट मुक्ति देशको दोस्रो ठूलो उपलब्धि
उनले देशको दोस्रो ठूलो उपलब्धि नक्सलवाद तथा माओवादबाट मुक्ति पाउनु रहेको बताए। नक्सली हिंसाले सबैभन्दा बढ़ी क्षति जनजातिय समाजलाई नै पुर्याएको उनले उल्लेख गरे।
साल २०१४ मा देशका लगभग सवा सय जिल्ला नक्सलवादबाट प्रभावित रहेको बताउँदै उनले प्रत्येक वर्ष हजारौँ मानिसले ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्मरण गरे। त्यसबेला सरकारहरूले आदिवासी दाजुभाइ तथा दिदी- बहिनीहरूलाई उनीहरूकै अवस्थामा छाड़िदिएको र सबै मौन बसेको उनले आरोप लगाए। उनीहरूलाई मतदान समेत गर्न दिइँदैनथ्यो, तर तत्कालीन सरकारहरू मूकदर्शक बनेर बसेका थिए।
गरीब आमाहरूका अगाड़ीबाट नक्सलीहरूले उनीहरूका साना बालबालिकाहरूलाई खोसेर लैजाने र घरका छोरीहरूलाई अपहरण गर्ने गरेको उनले बताए। आज नक्सलवाद समाप्त भएपछि जनजातिय समाजका आमा तथा दिदी- बहिनीहरूले आशीर्वाद दिइरहेको उनको भनाइ थियो। अहिले ती युवाहरूले शिक्षासँगै रोजगारीका अवसर समेत प्राप्त गरिरहेको उनले बताए।
प्रधानमन्त्री मोदीले जनजातिय गौरव दिवसका अवसरमा आज देशभरि १७० भन्दा बढ़ी परियोजनाको उद्घाटन तथा ७० भन्दा बढ़ी परियोजनाको शिलान्यास गरिएको जानकारी दिए। देशका विभिन्न राज्यहरूमा ३० हजार करोड़ रुपियाँका परियोजनाहरूको उद्घाटन गरिएको पनि उनले बताए।
प्रधानमन्त्री मोदीको भर्चुअल सम्बोधनअघि राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री डा. मोहन यादवले १,३५८ करोड़ रुपियाँको लागतमा निर्माण गरिएको डही माइक्रो उद्वहन सिँचाइ परियोजनाको उद्घाटन गरे। सम्मेलनका लागि ९० हजार वर्गफिट क्षेत्रफलको विशाल डोम निर्माण गरिएको थियो, जहाँ लगभग १५ हजार मानिस उपस्थित थिए।
केन्द्रिय मन्त्री सावित्री ठाकुरद्वारा भगवान बिरसा मुण्डाको प्रतिमा स्थापना गर्न माग
केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले कार्यक्रममा कुक्षीमा भगवान बिरसा मुण्डाको प्रतिमा स्थापना गर्न माग गरिन्। उनले आदिवासी दाजुभाइ तथा दिदी- बहिनीहरू, किसान र युवाहरूको जीवनमा परिवर्तन ल्याउन तथा उनीहरूको प्रगतिका लागि प्रधानमन्त्री मोदीले धेरै ऐतिहासिक निर्णयहरू लिएको बताइन्।
उनले आफू स्वयं यसको एउटा उदाहरणका रूपमा उपस्थित रहेको बताउँदै आफ्नो कुनै राजनीतिक पृष्ठभूमि नभएको उल्लेख गरिन्। ४० घर भएको एउटा सानो बस्तीमा बस्ने महिलाले कहिल्यै यति ठूलो मञ्चमा आएर आफ्नो आदिवासी समाजका बीचमा भाषण गर्न सक्ने र उनीहरूका लागि योजनाहरू बनाउन सक्ने कल्पना समेत नगरेको उनले बताइन्।
कार्यक्रमलाई राज्यपाल तथा मुख्यमन्त्रीले पनि सम्बोधन गरे।
हिन्दुस्थान समाचार / भवानी थामी