नेपालमा तीन महिनामै १० हजार करोड रुपियाँको लगानी प्रस्ताव, १९५ नयाँ उद्योग दर्ता
नेपाल का उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालय


काठमाडौँ, १५ नोभेम्बर (हि.स.)। नेपालमा चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिक अवधिमा औद्योगिक क्षेत्रमा १० हजार करोड रुपियाँभन्दा बढीको लगानी प्रस्ताव आएको छ। उद्योग विभागमा दर्ता भएका कुल १९५ वटा उद्योगले यस्तो लगानी प्रस्ताव पेस गरेका हुन्।

उद्योग विभागको त्रैमासिक प्रतिवेदनअनुसार, अगस्तदेखि अक्टोबरसम्मको अवधिमा १४ वटा ठूला, २२ वटा मझौला र १५९ वटा साना उद्योग दर्ता भएका छन्। यी उद्योगमार्फत कुल १० हजार २२० जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

विभागका अनुसार, पहिलो त्रैमासिकमा सबैभन्दा धेरै उद्योग सूचना प्रविधि (आईटी) क्षेत्रसँग सम्बन्धित दर्ता भएका छन्। यस क्षेत्रमा कुल ८६ वटा उद्योग दर्ता भएका छन्। यी उद्योगले १५८ करोड रुपियाँ लगानी तथा ९५० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।

त्यसैगरी, पर्यटन क्षेत्रमा ४० वटा र सेवा क्षेत्रमा २३ वटा उद्योग दर्ता भएका छन्। पर्यटन क्षेत्रका उद्योगहरूले ५६३ करोड रुपियाँ लगानी तथा १ हजार ६१८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्। यता, सेवा क्षेत्रमा दर्ता भएका उद्योगहरूले ३२५ करोड रुपियाँ लगानीसहित ४ हजार १३२ जनालाई रोजगारी दिने योजना प्रस्तुत गरेका छन्।

यस अवधिमा सबैभन्दा बढी लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा आएको छ। विभागका अनुसार, ऊर्जा क्षेत्रमा दर्ता भएका तीनवटा उद्योगले ७ हजार १३३ करोड ३५ रुपियाँ लगानी तथा १७३ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।

त्यसैगरी, पूर्वाधार क्षेत्रमा दर्ता भएका दुईवटा उद्योगले २०७ करोड रुपियाँ लगानी तथा २ हजार ३८० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।

विभागका अनुसार, यस अवधिमा उत्पादनमूलक क्षेत्रमा ३७ वटा, कृषि तथा वन क्षेत्रमा तीनवटा र खनिज क्षेत्रमा एउटा उद्योग दर्ता भएको छ।

उत्पादनमूलक क्षेत्रका उद्योगहरूले १०८ करोड रुपियाँ लगानी तथा २०७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्। त्यसैगरी, कृषि तथा वन क्षेत्रका उद्योगहरूले ११२ करोड रुपियाँ लगानी तथा ७०६ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्। यता, खनिज क्षेत्रका उद्योगहरूले १६ करोड रुपियाँ लगानी तथा ५४ जनालाई रोजगारी दिने योजना पेस गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande