नेपालका गृहमन्त्रीले संयुक्त अरब इमिरेट्सका मन्त्रीलाई भेटे, बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानीको प्रस्ताव
संयुक्त अरब अमीरात के मंत्री से मुलाकात करते नेपाल के गृहमंत्री


काठमाडौँ, १५ नोभेम्बर (हि.स.)। नेपालका गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन्। यस क्रममा दुवै नेताबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहयोगका विभिन्न पक्षमा छलफल भएको छ।

गृहमन्त्री गुरुङका अनुसार, बैठकमा बूढीगण्डकी जलविद्युत् परियोजना, कृषि तथा सेवा क्षेत्रका साथै सुरक्षा प्रविधिमा यूएईको लगानी र सहयोगको प्रस्ताव राखिएको थियो। उनले बैठकमा प्रविधिमैत्री पुलिस सेवा, गैरघातक सुरक्षा उपकरणको उत्पादन, सुरक्षा निकायहरूको आधुनिकीकरण तथा तिनलाई प्रविधिअनुकूल बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जानकारी दिएका छन्।

गृहमन्त्री सुदन गुरुङले नेपालका तर्फबाट प्रस्तावित परियोजनाहरूमा सहयोग गर्ने विषयमा डा. थानीले सकारात्मक तत्परता देखाएको बताएका छन्।

गृहमन्त्री गुरुङ विश्व पुलिस शिखर सम्मेलनमा सहभागी हुन दुबई पुगेका हुन्। संयुक्त अरब इमिरेट्स सरकारको औपचारिक निमन्त्रणामा उनी दुबई पुगेका हुन्।

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय पुलिस सहयोग, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका क्षेत्रमा अपनाइँदै आएका नवीनतम प्रक्रियाहरूबारे विचारविमर्श गरिने बताइएको छ। सम्मेलनका क्रममा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय भेटवार्ता, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कारलगायत विभिन्न कार्यक्रम आयोजना गरिनेछन्।

यसपटकको सम्मेलनमा रक्षा तथा सङ्कट व्यवस्थापन, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराधको रोकथाम, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक विधिविज्ञान प्रविधि, लागुऔषध तथा सङ्गठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली र भूउपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षालगायत कुल १४ वटा विषयगत क्षेत्र समावेश गरिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande