49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धा शुरु
49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धा शुरु


गान्तोक, 16 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री पीएस तामाङले सोमवार गान्तोकस्थित पाल्जोर स्टेडियमको इण्डोर ब्याडमिन्टन हलमा योनेक्स-सनराइज 49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धाको उद्घाटन गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले देशभरिबाट आएका विशिष्ट अतिथि, खेलाड़ी, प्रशिक्षक र पदाधिकारीहरूलाई सिक्किममा स्वागत गरे। उनले यस प्रतिष्ठित च्याम्पियनशिपको आयोजनालाई राज्यका लागि एक ऐतिहासिक कोसेढुङ्गा र राष्ट्रिय खेलकुदको मानचित्रमा सिक्किमको बढ्दो उपस्थितिको प्रतिबिम्बका रूपमा वर्णन गरे। उनले च्याम्पियनशिप आयोजना गर्ने जिम्मेवारी सिक्किमलाई सुम्पिएकोमा ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) प्रति आभार व्यक्त गरे र यसका अध्यक्ष तथा असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाको सहयोग र प्रोत्साहनको सराहना गरे। उनले ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बास) र यो प्रतियोगिता आयोजना गर्न संलग्न सबैको प्रशंसा पनि गरे।

युवाहरूको मानसिकता निर्माणमा खेलकुदको महत्त्वबारे प्रकाश पार्दै मुख्यमन्त्रीले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र चरित्र विकासमा खेलकुद गतिविधिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले खेलकुद पूर्वाधारलाई सुदृढ़ पार्न तथा युवा खेलाड़ीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न थप अवसरहरू सिर्जना गर्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्‍याए। उनले युवा विकास, महिला सशक्तिकरण, स्वास्थ्य र खेलकुदमा समावेशी सहभागितामा सरकारको विशेष ध्यान रहेको कुरामा जोड़ दिए।

यो च्याम्पियनशिपले उदाउँदा ब्याडमिन्टन प्रतिभाहरूका लागि एक बहुमूल्य मञ्च प्रदान गर्नुका साथै सिक्किमको खेलकुद संस्कृतिलाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गर्दै उनले सबै सहभागीलाई सफलताको शुभकामना दिए साथै उनले खेलाड़ीहरूलाई निष्पक्ष खेल (फेयर प्ले) र खेल भावना कायम राख्न प्रोत्साहित गरे। मुख्यमन्त्रीले राज्यमा आएका सबै टोलीको बसाइ सुखद र स्मरणीय रहोस् भन्ने कामना पनि गरे।

कार्यक्रमको शुरुआत राष्ट्रिय गानबाट भयो। त्यसपछि ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष जेकब खालिङले मुख्यमन्त्रीलाई खादा अर्पण गरे।

आफ्नो स्वागत सम्बोधनमा खालिङले मुख्यमन्त्री, विशिष्ट अतिथि, ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाका प्रतिनिधि, प्राविधिक पदाधिकारी र सहभागी टोलीहरूलाई स्वागत तथा अभिवादन व्यक्त गरे। यस च्याम्पियनशिपलाई सिक्किमका लागि एक कोसेढुङ्गा सरहको उपलब्धि बताउँदै उनले यसमा लगभग 600 प्रतिनिधिको सहभागिता रहेको उल्लेख गरे, जसमा सबै 28 राज्य र पाँच केन्द्र शासित प्रदेशको प्रतिनिधित्व गर्ने करिब 460 खेलाड़ी समावेश थिए।

उनले सिक्किमलाई यो प्रतिष्ठित च्याम्पियनशिप आयोजना गर्ने अवसर प्रदान गरेकोमा ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाप्रति आभार व्यक्त गरे साथै मुख्यमन्त्री र राज्य सरकारबाट प्राप्त निरन्तर सहयोग, विशेषगरी यस प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमको मान्यता दिएकोमा, प्रशंसा गरे। उनले यहाँ आएका विभिन्न टोलीलाई सिक्किमको परम्परागत आत्मीयता र आतिथ्यको आश्वासन पनि दिए।

जोरेथाङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष विशाल मुखियाले मुख्यमन्त्रीलाई प्रतियोगिताको स्मृति-चिह्न प्रदान गरे। यसका साथै ‘डच एण्ड जर्मन ओपन वर्ल्ड ग्रान्ड प्रिक्स 2026’-मा देशको प्रतिनिधित्व गर्ने ‘इण्डियन जुनियर नेशनल टिम’-का सदस्य तथा गुजरात र असम ब्याडमिन्टन एसोसिएशनका प्रतिनिधिहरूले पनि मुख्यमन्त्रीलाई विशेष स्मृति-चिह्न प्रदान गरे।

कार्यक्रममा सांस्कृतिक आयाम थप्दै मङ्गनस्थित ‘नर्थ सिक्किम एकाडेमी’-का विद्यार्थीहरूले ‘थ्री रुट्स, वान सोल’-शीर्षकमा एक सांस्कृतिक प्रस्तुति दिए।

उक्त समारोहमा खेलाड़ीहरूद्वारा शपथ ग्रहण पनि गरे। ‘नर्थ इस्ट जोन ब्याडमिन्टन च्याम्पियनशिप 2026’ का कांस्य पदक विजेता, सिक्किमका अंश धमलाले सहभागी सम्पूर्ण खेलाड़ीको तर्फबाट शपथ ग्रहण गराए।

मुख्यमन्त्रीले योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन व्यक्तिगत च्याम्पियनशिप 2026’ को औपचारिक उद्घाटन गरे।

ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका महासचिव सुकान्त दासले धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा वन तथा पर्यावरण विभागका मन्त्री पिञ्छो नामग्याल लेप्चा, विद्युत् विभागका सल्लाहकार तथा विधायक सञ्जीत खरेलसहित अन्यको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande