
गान्तोक, १६ नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको मुख्यालय टोलीले आज उत्तर सिक्किमअन्तर्गत मङ्गन जिल्लाका लाचेन, माङ्सिला तथा जङ्गु क्षेत्रका विभिन्न गाउँहरूको स्थलगत भ्रमण गर्यो। टोलीले उत्तर सिक्किमका स्थानीयवासीहरूले वर्तमान समयमा भोगिरहेका विविध समस्या, कठिनाइ तथा चुनौतीहरूबारे प्रत्यक्ष जानकारी लिँदै उनीहरूको अवस्था र जनगुनासोको जायजा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भ्रमणका क्रममा स्थानीयवासीहरूले वर्तमान सरकारमा सिक्किमेली जनताले आफ्ना मौलिक अधिकारसमेत गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विशेषगरी, सिक्किमका विशेष संरक्षित समुदाय तथा अनुसूचित जनजातिको भविष्य नै अन्योलपूर्ण र असुरक्षित बन्दै गएको उनीहरूको गुनासो रहेको एसडीएफको भनाइ छ।
एसडीएफले भनेको छ, 'सिक्किमको सत्ता र शासन व्यवस्था क्रमशः सिक्किमेली जनताको हातबाट बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयवासीहरूले अब आफ्नो अधिकार र पहिचानको संरक्षणका लागि वर्तमान सरकारलाई सत्ताबाट हटाउनु अपरिहार्य भइसकेको धारणा राखे। यस परिस्थितिमा एसडीएफ पार्टीले अझ सक्रिय र सशक्त रूपमा अघि बढ्नुपर्ने आग्रहसमेत उनीहरूले गरे।'
स्थानीयवासीहरूले एसडीएफ पार्टीको सिक्किमेवादी नीतिप्रति आफ्नो समर्थन रहेको स्पष्ट पार्दै सिक्किम र सिक्किमेली जनताको हित तथा अधिकारको संरक्षणका लागि एसडीएफ पार्टी नै प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। साथै, एसडीएफबाहेक अन्य कुनै पनि राजनीतिक दलले सिक्किम र सिक्किमेली जनताको वास्तविक हितलाई प्राथमिकतामा राख्न नसकेको उनीहरूले ठहर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल