बंगलादेशका व्यवसायीहरू त्रासमा, फिरौती नदिँदा अपराधीहरूद्वारा गोली प्रहार र आक्रमण
ढाका में शुक्रवार रात करीब 11 बजे  नेशनल इंस्टीट्यूट ऑफ कार्डियोवैस्कुलर डिसीजेज के सामने की गई गोलीबारी में अनुराग फार्मेसी के शीशे चकनाचूर हो गए। फोटो - ढाका ट्रिब्यून


ढाका (बंगलादेश), १७ नोभेम्बर (हि.स.)। बंगलादेशका व्यवसायीहरू अहिले अपराधीहरूको त्रासमा बाँच्न बाध्य भएका छन्। फिरौती नदिएको भन्दै अपराधीहरूले हिंसात्मक घटनाहरूलाई अन्जाम दिइरहेका छन्। आइतवार पनि राजधानी ढाकाका केही व्यावसायिक प्रतिष्ठानहरूलाई निशाना बनाइएको छ। मोहम्मदपुर र हजारीबाग क्षेत्रमा ‘एजेआर कुरियर सर्भिस’ का सवारीसाधन तथा एउटा गोदाममा आक्रमण गरिएको छ। यसैगरी, रामपुरामा एउटा इन्टरनेट सेवा प्रदायक कम्पनीको कार्यालयमा दुई जनामाथि गोली प्रहार गरिएको छ।

पुलिस तथा अन्य कानुन कार्यान्वयन गर्ने निकायहरूले राजधानीमा फिरौती असुलीमा संलग्न र आपराधिक गतिविधिमा सक्रिय ५४५ जनाको सूचीका आधारमा धरपकड अभियान तीव्र बनाएका छन्। यद्यपि, पक्राउ अभियान जारी रहँदा पनि हतियारको बलमा फिरौती असुल्नेहरूको प्रभाव किन समाप्त हुन सकेको छैन भन्ने प्रश्न उठिरहेको छ।

‘ढाका ट्रिब्युन’ को रिपोर्टअनुसार, शुक्रवार राति करिब ११ बजीको घटना हो। राजधानीमा रहेको नेसनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजेजको अगाडि तथा श्यामोलीतर्फ जाने मुख्य सडकको छेउमा अवस्थित अनुराग फार्मेसीमा कर्मचारी मोइनुद्दीन ग्राहकहरूलाई सेवा दिइरहेका थिए। अचानक गोली चलेपछि पूरै क्षेत्र त्रसित बन्यो। त्यहाँ उपस्थित मानिसहरूले केही बुझ्न नपाउँदै पुनः गोली प्रहार भयो। गोली फार्मेसीको सिसा फुटाउँदै मोइनुद्दीनको टाउकोमाथिबाट गएको थियो। उनी संयोगवश जोगिन सफल भए।

आरोपअनुसार, बादल र पप्पू नामका दुई अपराधीले फार्मेसीका मालिकसँग ५० लाख टाका फिरौती मागेका थिए। मागअनुसार रकम नपाएपछि उनीहरूले शुरुमा दुईवटा घरेलु बम प्रहार गरे र त्यसपछि सीधै गोली चलाए। अनुराग फार्मेसी मात्र नभई राजधानीका विभिन्न क्षेत्रमा फिरौतीको मागलाई लिएर व्यावसायिक प्रतिष्ठानहरूमा गोली प्रहार, आक्रमण, तोडफोड तथा आगजनीका घटनाहरू भइरहेका छन्। आइतवार मोहम्मदपुर र हजारीबागमा एजेआर कुरियर सर्भिसका सवारीसाधन तथा एउटा गोदाममा आक्रमण गरिएको थियो। सोही साँझ रामपुरामा एउटा इन्टरनेट सेवा प्रदायक कम्पनीको कार्यालयमा दुई जनामाथि गोली प्रहार गरियो।

लगातार भइरहेका यस्ता घटनाले व्यवसायीहरूमा चिन्ता बढाएको छ। आरोप छ कि अपराधीहरूले शुरुमा फोनमार्फत व्यवसायीहरूलाई धम्की दिँदै फिरौती माग्छन्। उनीहरूको माग पूरा नभए गोली प्रहार तथा अन्य हिंसात्मक गतिविधिमार्फत त्रास फैलाउँछन्। यस्तो परिस्थितिमा कानुन कार्यान्वयन गर्ने निकायहरूले राजधानीमा फिरौती असुली तथा आपराधिक गतिविधिमा संलग्न ५४५ जनाको सूची तयार गरी कारबाही तीव्र बनाएका छन्।

अनुराग फार्मेसीसँगै एउटा रेस्टुरेन्ट र सुपरशपलाई पनि निशाना बनाइएको छ। यी प्रतिष्ठानका मालिक सैयद हसन नूर इस्लाम हुन्। उनी पूर्व पार्षद तथा अवामी लिगका नेताका रूपमा परिचित छन्। प्राप्त जानकारीअनुसार, ५ अगस्त २०२४ मा भएको राजनीतिक परिवर्तनपछि उनी देशबाहिर रहेका छन्।

स्रोतहरूका अनुसार, मोहम्मदपुर क्षेत्रका दुई अपराधी बादल र पप्पूले हालै उनीसँग ५० लाख टाका फिरौती मागेका थिए। रकम नपाएपछि उनीहरूले बम तथा गोली प्रहार गरी त्रास फैलाएका थिए। पुलिसले फार्मेसीमा भएको गोली प्रहारको घटनामा दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ। आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।

राजधानीका रामपुरा र हातिरझिल क्षेत्रमा फिरौती मागेको आरोपमा गुजा बादशाह नामका एक अपराधी चर्चामा छन्। उनलाई मारिएका अपराधी कैल्ला पलाशका निकट सहयोगी मानिन्छ। स्थानीय स्रोतहरूका अनुसार, यस वर्ष जून महिनामा गोली प्रहारबाट कैल्ला पलाशको मृत्यु भएपछि उक्त क्षेत्रमा गुजा बादशाहको प्रभाव बढेको छ। यसअघि अप्रेल महिनामा पूर्व पुलिस एएसपी फजलुल हकको हत्या प्रकरणमा उनलाई पक्राउ गरिएको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।

आरोप छ कि उनका सहयोगीहरूले रामपुरा र हातिरझिल क्षेत्रमा केबल टेलिभिजन तथा इन्टरनेट जडान सेवा, आवासीय परियोजना, तयारी पोसाक उद्योग तथा होटललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानबाट फिरौती असुल्ने गतिविधि सञ्चालन गरिरहेका छन्।

आइतवार साँझ चारदेखि पाँच जना युवक रामपुराको वाप्डा रोडस्थित स्पिड टच नेटवर्क एन्ड टेक्नोलोजीको कार्यालयमा प्रवेश गरी गोली चलाएका थिए। उक्त घटनामा दुई जना घाइते भएका छन्। आक्रमणकारीमध्ये दुई जनाले अनुहारमा मास्क र टाउकोमा टोपी लगाएका थिए।

कम्पनीका नेटवर्क सञ्चालन प्रमुख बन्दन कुमार साहा पनि उक्त आक्रमणमा घाइते भएका छन्। उनले बताएअनुसार, १५ देखि २० दिनअघि आफूलाई गुजा बादशाह र जोनी बताउने केही व्यक्तिले मोबाइल फोनमार्फत १० लाख टाका फिरौती मागेका थिए। रकम नदिए उक्त क्षेत्रमा व्यवसाय सञ्चालन गर्न नदिने धम्कीसमेत दिएका थिए।

उनले भने, “त्यसपछि नै यो गोली प्रहारको घटना भएको हो। हामी निकै त्रसित छौँ।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande