

नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। केन्द्रिय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले काहिरामा मिस्रको नवीकरणीय ऊर्जा कम्पनी इन्फिनिटी एनर्जीका अध्यक्ष मोहम्मद इस्माइल मन्सुरसँग भेट गरेका छन्। भेटका क्रममा सवारीसाधन उत्पादन तथा विद्युतीय सवारीसाधनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
मन्त्री गोयलले मङ्गलबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै इन्फिनिटी एनर्जीका अध्यक्ष मोहम्मद इस्माइल मन्सुरसँग भेट गरी सम्भावित अवसरहरूबारे छलफल गरेको जानकारी दिएका छन्। उनले मिस्रका प्रमुख उद्योगी तथा व्यवसायीहरूबीच भारतसँगको सम्बन्ध विस्तार गर्ने रुचि बढ्दै गएको पनि उल्लेख गरेका छन्।
गोयलले सवारीसाधन उत्पादन, विद्युतीय सवारीसाधन (ईभी), सवारीसाधनका पाटपुर्जा, वित्तीय प्रविधि तथा डिजिटल भुक्तानी, नवीकरणीय ऊर्जा, ढुवानी तथा रसद व्यवस्थापन, भण्डारण र आपूर्ति शृङ्खलाजस्ता क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेको बताएका छन्।
भारतको विशाल तथा तीव्र गतिमा विस्तार भइरहेको बजार, बलियो उत्पादन क्षेत्र, दक्ष जनशक्ति र लगानीमैत्री वातावरणले इजिप्टका व्यवसायीहरूलाई भारतको विकास यात्रामा सहभागी हुने महत्त्वपूर्ण अवसर प्रदान गर्ने उनको भनाइ छ।
भारत र मिस्रले ९० दिनभित्र व्यापार सम्झौताबारे औपचारिक वार्ता शुरु गर्न सक्ने
यसअघि केन्द्रिय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले सोमबार भारत र मिस्रका अधिकारीहरूले प्रस्तावित व्यापार सम्झौताका लागि विचारार्थ विषय (टीओआर) अन्तिम रूप दिने बताएका थिए। दुवै देशले आगामी ९० दिनभित्र सम्झौताका लागि औपचारिक वार्ता शुरु गर्ने उनको अपेक्षा छ।
मन्त्री गोयलले काहिराको दुईदिने भ्रमण सोमबार अबेर राति सम्पन्न गरेका छन्। भ्रमणका क्रममा उनले भारत र मिस्रबीच व्यापार तथा लगानी विस्तारका विषयमा त्यहाँका नेता र व्यवसायीहरूसँग विभिन्न बैठक गरेका थिए।
उनले यस भ्रमणले आफ्ना कम्पनीले मिस्रका कम्पनीहरूसँग सहकार्य गर्न सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गर्न सहयोग पुगेको बताएका छन्। उक्त छलफलमा दुई भारतीय व्यवसायी पनि सहभागी थिए।
उल्लेखनीय छ, मिस्र भ्रमणका क्रममा गोयलले सयभन्दा बढी सदस्य रहेको भारतीय व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। दुवै देश द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि व्यापार सम्झौताको सम्भावना खोजिरहेका छन्। आगामी पाँच वर्षभित्र द्विपक्षीय व्यापारलाई दोब्बर गरी १२ अरब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ।
हिन्दुस्थान समाचार / बिशाल