भाजपा सिक्किमको सरकारलाई 'कम्पनीज एक्ट' बारे आफ्नो अडान स्पष्ट गर्न माग
भाजपा सिक्किमको सरकारलाई 'कम्पनीज एक्ट' बारे आफ्नो अडान स्पष्ट गर्न माग


गान्तोक, १८ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले 'कम्पनीज एक्ट, 2013' बारे सिक्किम सरकारको अस्पष्टताको परिणाम राज्यका उद्यमीहरूले झेल्नु परिरहेको बताएको छ। भाजपा सिक्किमले 'कम्पनीज एक्ट, 2013' लाई लिएर अब ठोस कदम चाल्नु पर्ने उचित समय आएको बताएको छ।

भाजपा सिक्किमका प्रवक्ता पासाङ शेर्पाले आज राजधानीस्थित सिटी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस आसयको जानकारी गराएका हुन्। उनले देशमा 'कम्पनीज एक्ट, 2013' लागू भइसकेको भए तापनि सिक्किममा अझै पनि उक्त कानूनको कार्यान्वयनलाई लिएर अस्पष्टता कायम रहेको बताए। उनले सिक्किमको 'सिक्किम रेजिस्ट्रेशन अफ् कम्पनिज एक्ट, 1961' लाई धारा 371एफ- को सुरक्षा प्राप्त रहेकाले देशको संसदले पनि 2019 मै यसलाई अक्षुण्ण राख्ने र सिक्किमले आफ्नो अडान स्पष्ट नगरेसम्म 'कम्पनीज एक्ट, 2013' लागू नगर्ने आश्वासन दिइसकेको जानकारी गराए।

अर्कातिर, सिक्किम सरकारले 'कम्पनीज एक्ट, 2013' बारे आजसम्म आफ्नो अडान स्पष्ट नगरेकाले उक्त कानून लागू हुन नसकेको उनले बताए। उनले सिक्किममा 'कम्पनीज एक्ट' अहिलेसम्म थॉंतीमा रहेकाले यसको परिणाम यहॉंका स्थानीय उद्यमीहरूले झेल्नु परिरहेको बताए। उनले उद्यमलगायत अन्य सम्बन्धित क्षेत्रहरूमा रोजगारको अवसर रहे तापनि 'कम्पनिज एक्ट' को अभावमा उद्यमीहरूलाई ठूलो मार्का परिरहेको दाबी गरे।

प्रवक्ता शेर्पाले देशको एक वैधानिक संस्था 'इन्स्टिट्यूट अफ् कम्पनी सेक्रेटेरिज अफ् इण्डिया' (आईसीएसआई) ले गत 5 नोभेम्बर, 2026 मा भारत सरकारको करपोरेट मामिला मन्त्रालयमा पत्राचार गरेको जानकारी गराए। उनले उक्त पत्रमा सिक्किममा 'कम्पनीज एक्ट, 2013' कार्यान्वयन गर्ने सम्भाव्यताबारे सिक्किम सरकारसॅंगको परामर्श प्रक्रियालाई शीघ्र अघि बढाउन अनुरोध गरेको जानकारी गराए।

यस अतिरिक्त, प्रवक्ता शेर्पाले सिक्किममा 'कम्पनीज एक्ट, 2013' लागू गर्ने कि नगर्ने भन्ने सम्बन्धमा जस्टिस वाङ्गदी नेतृत्वधीन कमिटीले अगावै राज्य सरकारलाई रिपोर्ट बुझाइसकेको थप जानकारी गराए। उनले उक्त रिपोर्ट अब केन्द्र सरकार समक्ष पेस गरेर त्यसलाई कार्यान्वयन गर्ने उचित समय र ठूलो अवसर रहेको मन्तव्य राखे। उनले पुरानो कानूनको पनि सुरक्षा सुनिश्चित गर्दै नयॉं मार्ग प्रशस्त गर्नु पर्ने विचार व्यक्त गरे। उनले यस कार्यमा भाजपा सिक्किमले सरकारलाई हर सम्भव सहयोग गर्ने आश्वासन पनि दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande