
गान्तोक, १८ नोभेम्बर (हि.स.)। सिक्किमेली साहित्यका विशिष्ट व्यक्तित्व, पद्मश्री पुरस्कारबाट सम्मानित साहित्यकार सानु लामाको स्मृतिमा बुधवार गान्तोकमा सानु लामा स्मृति दिवस पालन गरियो। नेपाली भाषा-साहित्यका स्रष्टा, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजित समारोहमा स्वर्गीय लामाद्वारा लिखित उपन्यास ‘रूपसाङ नाम्सा’, संस्मरण ‘आँगन परतिर’ तथा उनको जीवन र योगदानमा आधारित 'स्मृति ग्रन्थ' लोकार्पण गरियो।
समारोहमा सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी पूर्व मुख्य सचिव पीके प्रधान, पूर्व मन्त्री बिरबल तामलिङ, पूर्व विधानसभा अध्यक्ष कलावती सुब्बा, पूर्व विधायक बीएम रामुदामु, डीबी ठटाल, पूर्व सचिव नलिनी गुप्ता, गान्तोक नगर निगमका उप-मेयर सहारा लामा, शिक्षाविद् रूद्र पौड्याल, भाषा एवम् व्याकरणविद केएन शर्मा, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, सिक्किम अकादेमीका अध्यक्ष प्रवीण राई जुमेली, परि प्रकाशनका अध्यक्ष सीपी शर्मा, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष रत्न लक्सम, डा. शोभाकान्ति थेगिम ट्रस्टका अध्यक्ष डूप छिरिङ लेप्चा लगायत साहित्य, कला र संस्कृतिसँग आबद्ध व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
सानु लामाको परिवारले सिक्किम अकादेमीको सहयोगमा आयोजना गरेको कार्यक्रममा सर टासी नामग्याल सिनियर सेकेन्डरी स्कूलमा नवौँ श्रेणीको नेपाली विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी रूवाहाङ राईलाई सानु लामा छात्र पुरस्कार प्रदान गरियो। नगद २५ हजार रुपियाँ र प्रशस्तिपत्रसहित उनलाई सम्मानित गरिएको हो।
मुख्य अतिथि मन्त्री जीटी ढुङ्गेलले आफ्नो सम्बोधनमा सानु लामासँगको सहकार्य र उनको नेतृत्वमा अभियन्ताका रूपमा काम गर्दाको अनुभव स्मरण गरे। उनले सानु लामासँग काम गर्ने अवसर पाउनुलाई आफ्नो सौभाग्य बताउँदै सिक्किमको साहित्य, समाज र सांस्कृतिक क्षेत्रमा उनले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे। अभियन्ता र साहित्यकारका कार्यक्षेत्र फरक भए पनि सानु लामाले दुवै क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको उनको भनाइ थियो।
लामाद्वारा रचित चर्चित गीत ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ सिक्किमको सांस्कृतिक पहिचानका रूपमा युगौँसम्म स्मरणीय रहने बताउँदै मन्त्री ढुङ्गेलले उनका साहित्यिक तथा सामाजिक योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा स्मृति ग्रन्थका सम्पादक पूर्ण योञ्जनले सानु लामाको साहित्यिक यात्रा, पारिवारिक पृष्ठभूमि तथा सामाजिक योगदानबारे प्रकाश पारे। उनले लामाको जीवनकालमा प्रकाशित हुन नसकेको उपन्यास अहिले परिवारको पहलमा पाठकमाझ आउन सकेको उल्लेख गर्दै यो प्रकाशन उनको अन्तिम साहित्यिक इच्छालाई सम्मान गर्ने महत्वपूर्ण प्रयास भएको बताए।
सानु लामाकी जेठी छोरी डा. अनुशा लामाले स्वागत मन्तव्य राख्दै स्मृति दिवसको आयोजनामार्फत पिताको साहित्यिक योगदानलाई पुनः स्मरण गर्नुका साथै उनको अन्तिम साहित्यिक कृतिलाई सार्वजनिक गर्ने अवसर प्राप्त भएको बताइन्। पिताका साहित्यिक तथा सामाजिक कर्मलाई समाजले निरन्तर सम्झिरहेकोमा उनले आभार व्यक्त गरिन्। साथै, उनले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई छात्र पुरस्कार प्रदान गर्ने परम्परा सुरु गरिएको जानकारी दिँदै यसले नयाँ पुस्तालाई अध्ययन र साहित्यप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
समारोहमा गायक दावा लामा र सिक्किम सरकारको संस्कृति विभागका कलाकारहरूले सानु लामाको लोकप्रिय गीत ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ प्रस्तुत गरेका थिए। यसैगरी गायिका सुश्मा दाहालले लामाद्वारा लिखित नयाँ गीत गाएर उनीप्रति साङ्गीतिक श्रद्धाञ्जली अर्पण गरिन्।
तीनवटा कृतिको लोकार्पण, विद्यार्थी सम्मान र सांगीतिक प्रस्तुतिसहित सम्पन्न स्मृति दिवसले सानु लामाको साहित्यिक व्यक्तित्व, सिर्जनात्मक योगदान तथा सामाजिक प्रतिबद्धतालाई नयाँ पुस्तामाझ पुर्याउने सार्थक प्रयास गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल