युकेएफसीको गोल किपर रुपक कोया दिल्लीको फुटबल क्लबबाट खेल्ने
युकेएफसीको गोल किपर रुपक कोया दिल्लीको फुटबल क्लबबाट खेल्ने


खरसाङ, १८ नोभेम्बर (हि.स.)। युनाइटेड खरसाङ फुटबल क्लबका गोल किपर रुपक कोया दिल्लीको फुटबल क्लबमा सामेल भएका छन्। उनी दिल्लीको तरुण संघमा सामेल हुन आज खरसाङबाट प्रस्थान गरेका छन्।

यस अवसरमा उनलाई युकेएफसीका पदाधिकारीहरुले सम्मानसहित बिदाई गरे। युकेएफसीका सभापति क्यानट लेप्चा, कोच युगेन लामा, टिम म्यानेजर उज्वल लामा, मेघराज छेत्री र गोपाल छेत्रीले रुपकलाई मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाई गरे।

गोल किपर रुपक कोयाले लामो समयदेखि युकेएफसीको पक्षमा विभिन्न प्रतिष्ठित फुटबल टुर्नामेन्टहरु जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिलगढी, सिक्किम, नेपाल लगायत विभिन्न स्थानहरुमा युकेएफसीको तर्फबाट खेल्दै विभिन्न फुटबल टुर्नामेन्टहरु जिताउन महत्वपूर्ण योगदान दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande