बलरामपुरमा सडक दुर्घटना, पाँच जनाको मृत्यु, दुई घाइते
Road accident


बलरामपुर, १९ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बलरामपुर जिल्लामा बाक्लो कुहिरोका कारण दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटना उतरौला क्षेत्रको अक्सिबडहरा गाउँनजिक मध्यरातमा भएको हो।

पुलिसका अनुसार, राति करिब ११ बजी भएको दुर्घटनाको सूचना प्राप्त हुनासाथ पुलिस घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य शुरु गरेको थियो। प्रारम्भिक जॉंचअनुसार, दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किने क्रममा सडकमा पैदल हिँडिरहेका केही यात्रुहरू पनि दुर्घटनाको चपेटामा परेका थिए। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए।

पुलिसले घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएको थियो। उनीहरूको गम्भीर अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि उच्च चिकित्सा संस्थानमा पठाइएको छ।

मृत्यु हुनेहरूमा बरदही निवासी गुफरान (१८), बडहरा खुर्द गौरियनडीह निवासी सलीम (२०), चन्द्रापुर चिताई निवासी रहमत (३०), छपरतलवा निवासी तौफिक (१९) र बडहरा खुर्द निवासी मोहम्मद फारुक (२०) रहेका छन्। उनीहरू सबै बलरामपुर जिल्लाका बासिन्दा हुन्।

त्यसैगरी, घाइते हुनेहरूमा उतरौला थाना क्षेत्रअन्तर्गत बडहरा खुर्द गौरियनडीह निवासी मुजम्मिल खान (२०) र नाहिद अली (१८) रहेका छन्।

पुलिस अधीक्षक मार्तण्ड प्रकाश सिंहले घटनास्थलको निरीक्षण गरी सम्बन्धित अधिकारीहरूलाई आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्। मृतकका परिवारजनलाई पनि घटनाबारे जानकारी गराइएको छ।

घटनास्थलबाट क्षतिग्रस्त दुईवटा मोटरसाइकल, दुईवटा टुक्रिएका हेल्मेट र एउटा मृत बाख्रा पनि फेला परेको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande