पञ्जाबमा पटियाला-सङ्गरुर राष्ट्रिय राजमार्गअन्तर्गत भाखडा नहरमाथिको फलामे पुल भत्कियो, दुई ट्रक फसे
पंजाब में भाखड़ा नहर पर बना पुल टूटा


चण्डीगढ, १९ नोभेम्बर (हि.स.)। पञ्जाबमा पटियाला-सङ्गरुर राष्ट्रिय राजमार्गअन्तर्गत भाखडा नहरमाथि बनेको फलामे पुल बिहीबार बिहान सबेरै अचानक भत्किँदा त्यसमाथिबाट गइरहेका दुईवटा ट्रक पुलमा धसिएका छन्। पुल भत्किएपछि राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। भाखडा नहरको पानीको बहाव मोडिएर आसपासका क्षेत्रमा फैलिएपछि हलचल मच्चिएको छ। पुलिसले दमकल विभाग र प्रशासनसँग मिलेर स्थिति नियन्त्रणमा लिएको छ।

यो दुर्घटना पटियाला-सङ्गरुर बाइपासमा पर्ने पसियाना गाउँनजिक भएको हो। प्राप्त जानकारीअनुसार, दुईवटा ट्रकमध्ये एउटा ट्रकमा आगलागी भएको थियो। घटनाको सूचना पाएपछि दमकल विभागका गाडीहरू घटनास्थलमा पुगेका थिए। दमकलकर्मीहरूलाई आगो निभाउन निकै कठिनाइ भएको थियो। पुल भत्किनुको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

पुल भत्किएपछि भाखडा नहरको पानी पुलमाथिबाट बग्न थालेको छ। प्रशासनले पुलको दुवैतर्फ अवरोधक राखेर यातायात रोकेको छ। दुवै ट्रकमा कति जना सवार थिए र उनीहरू अहिले कहाँ छन् भन्नेबारे पनि कुनै जानकारी प्राप्त भएको छैन। दुर्घटना हुँदा ट्रकहरू पुलको अन्तिम छेउमा रहेको बताइएको छ।

यो पुल २०१६ मा निर्माण सम्पन्न भएको थियो। आसपासका गाउँलेहरूका अनुसार, गत वर्ष यस पुलमा केही चिरा परेको थियो। त्यसबेला भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) ले पुलको मर्मत गराएको थियो। पुलको लम्बाइ करिब १५० फिट रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande