
ढाका (बङ्गलादेश), १९ नोभेम्बर (हि.स.)। देशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले आगामी दिसम्बर महिनामा स्वदेश फर्किने घोषणा गरेपछि राजनीतिक टकराव बढ्दै गएको छ। हसिनाको गृह जिल्ला गोपालगञ्जमा हिंसा भड्किएपछि आज बिहान राजधानी ढाकामा उनका निकट सहयोगी तथा पूर्व शिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई पुलिसले नियन्त्रणमा लिएको छ। सिलहट-६ का पूर्व सांसद नाहिद अवामी लिगका वरिष्ठ नेता हुन्। अवामी लिगमाथि एक वर्षदेखि प्रतिबन्ध लागेको छ। यस पार्टीकी नेतृ पूर्वप्रधानमन्त्री शेख हसिना हुन्। बङ्गलादेशको अदालतले हसिनाको अनुपस्थितिमै उनलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ।
ढाका ट्रिब्युनको समाचारअनुसार, शेख हसिनाको पार्टी अवामी लिगको सल्लाहकार परिषद्का सदस्य नुरुल इस्लाम नाहिदलाई बिहीबार बिहान राजधानीको उत्तरा क्षेत्रस्थित एउटा घरबाट पुलिसले नियन्त्रणमा लिएको हो। २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनका क्रममा भएका हत्याका घटनासम्बन्धी मुद्दामा यो कारबाही गरिएको हो। पुलिसले बिहान करिब २ः२० बजी सेक्टर ३ को रोड नम्बर २ स्थित एउटा घरमा छापा मारेको थियो। उक्त घरमा उनी आफ्नो परिवारसँग बस्दै आएका थिए। त्यहीँबाट पुलिसले ८१ वर्षीय नेता नुरुल इस्लाम नाहिदलाई नियन्त्रणमा लिएर आफ्नो साथमा लगेको हो।
राजधानी ढाकाको उत्तरा पश्चिम पुलिस थानाका प्रमुख मोहम्मद खालिद मन्सुरले नाहिदलाई पक्राउ गरिएको बताए। उनले 'भेदभावविरोधी विद्यार्थी आन्दोलन' का क्रममा भएका हत्याका घटनासम्बन्धी पूर्वमन्त्रीविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको जानकारी दिए। पुलिसले यी आरोपहरूको अनुसन्धान गरिरहेको र आगामी कानुनी कारबाहीबारे विचार गरिरहेको उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल