बङ्गलादेशमा पूर्वमन्त्री मोनी र अवामी लिगका नेता नन्दीको घर जलाइयो
सांकेतिक।


ढाका (बङ्गलादेश), १९ नोभेम्बर (हि.स.)। देशको चटगाउँ डिभिजनअन्तर्गत चाँदपुरमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले पूर्व शिक्षामन्त्री डा. दीपू मोनी र अवामी लिगका सङ्गठन सचिव सुजित राय नन्दीका घरमा आगो लगाएका छन्। आधा घण्टाभित्र भएका यी घटनामा अवामी लिगका दुई वरिष्ठ नेताको सम्पत्तिलाई निशाना बनाइएको छ।

ढाका ट्रिब्युनको समाचारअनुसार, राति करिब ९ बजी आक्रमणकारीहरू कथित रूपमा शहरको नतुन बजार क्षेत्रमा रहेको कदमतला मार्केटस्थित दीपू मोनीको खाली रहेको तेस्रो तलाको घरमा प्रवेश गरी आगो लगाए। भवनमा बसोबास गर्ने व्यक्तिहरू र छिमेकीहरूले पानी हालेर आगो निभाएका थिए। पाँचौँ तलामा बस्ने अधिवक्ता गाजी दलालले आगलागीका कारण त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको बताए।

उनले ५ अगस्त, २०२४ मा भएको आगजनीको घटनामा उक्त आवास पहिले नै नराम्ररी क्षतिग्रस्त भइसकेको र बुधबारको आगलागीबाट मुख्य रूपमा बाँकी रहेको भग्नावशेष मात्र प्रभावित भएको बताए। चाँदपुर मोडल पुलिस थानाका प्रमुख फायेज अहमदले आफूलाई यस घटनाबारे कुनै जानकारी प्राप्त नभएको तर यसको अनुसन्धान गर्ने बताए।

राति करिब ९ः३० बजी आक्रमणकारीहरूको अर्को समूहले चाँदपुर सदर उपजिल्लाको फरक्काबाद गाउँमा सुजित राय नन्दीको दुईतले घरमा आगो लगाएको थियो। बालिया युनियन परिषद्को वार्ड नम्बर ७ का सदस्य दीपूले आक्रमणकारीहरू ४०-५० वटा मोटरसाइकलमा आएको र घरमा आगो लगाएको बताए।

उनले स्थानीय बासिन्दाहरूले आगो निभाउने प्रयास गरे पनि पूरै घर जलेर नष्ट भएको बताए। राति करिब ११ः१५ बजी दमकलकर्मीहरू घटनास्थलमा पुगेका थिए। त्यतिबेलासम्म आगलागीका कारण अधिकांश सम्पत्ति नष्ट भइसकेको थियो। चाँदपुर अग्नि सेवा कार्यालयका अधिकारी मोहम्मद अब्दुल्लाहले दमकलकर्मीहरू पुग्दा अधिकांश फर्निचर जलेर नष्ट भइसकेको जानकारी दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande