
कुशीनगर, 0२ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको कुशीनगर जिल्लामा आइतबार राति भएको भीषण सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। हाटा कोतवाली क्षेत्रअन्तर्गत हाटा-पिपराइच सडकखण्डको थरुआडीह नजिकै पेट्रोल पम्पको छेउमा ओम्नी भ्यान र ट्रेलरबीच आमने-सामने ठक्कर हुँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मृतकमध्ये एउटै परिवारका पाँच जना रहेको बताइएको छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज पठाइएको छ। घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्रीले दुःख व्यक्त गर्दै मृतकका शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तथा राहत कार्य तीव्र बनाउन र पीडित परिवारसँग सम्पर्क गरी हरसम्भव सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।
प्राप्त जानकारीअनुसार, कप्तानगञ्ज थाना क्षेत्रको भलुही गाउँ निवासी प्रधान प्रतिनिधि कन्हैया प्रसाद आफ्नो परिवार तथा परिचितहरूसँगै देवराज पिपरामा एक आफन्तको घरमा आयोजित तिलक समारोहमा सहभागी हुन गएका थिए। समारोह सम्पन्न भएपछि सबै जना राति अबेर ओम्नी भ्यानमा घर फर्किरहेका बेला हाटा कोतवाली क्षेत्रको थरुआडीह नजिकै विपरीत दिशाबाट आइरहेको ट्रेलरसँग भ्यान ठोक्कियो।
ठक्कर यति शक्तिशाली थियो कि भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भयो र त्यसमा सवार यात्रुहरू भित्रै फसे। दुर्घटनापछि घटनास्थलमा चिच्याहट र रुवाबासी मच्चिएको थियो। स्थानीय बासिन्दा तथा पुलिसले लामो प्रयासपछि भ्यानमा फसेका व्यक्तिहरूलाई बाहिर निकाले। घटनाको खबर फैलिनासाथ घटनास्थलमा ठूलो भीड जम्मा भयो।
दुर्घटनामा कन्हैया प्रसाद, उनका पिता रामबेलास, राममिलन र आयुषसहित सात जनाको मृत्यु भएको छ। मृतकमध्ये एउटै परिवारका पाँच जना रहेका छन्। दुर्घटनाको खबर भलुही गाउँमा पुग्नासाथ शोक छाएको छ। केही समयअघिसम्म वैवाहिक समारोहको खुसीमा रमाइरहेको परिवारमा अहिले शोकको वातावरण बनेको छ।
दुर्घटनापछि ट्रेलर चालक घटनास्थलबाट फरार भएका छन्। घटनाको सूचना पाएपछि पुगेको पुलिसले दुर्घटनाको कारणबारे जॉंच गरिरहेको छ। गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि गोरखपुर मेडिकल कलेज पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी