गान्तोकमा दुईदिने ‘सिक्किम ट्राभल एन्ड टुरिज्म फेयर २०२६’ को पहिलो संस्करण शुरु
गान्तोकमा दुईदिने ‘सिक्किम ट्राभल एन्ड टुरिज्म फेयर २०२६’ को पहिलो संस्करण शुरु


गान्तोक, २१ नोभेम्बर (हि.स.)। पर्यटन तथा नागरिक उड्डयन विभागले पान्डा इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा आयोजना गरेको दुईदिने ‘सिक्किम ट्राभल एन्ड टुरिज्म फेयर २०२६’ को पहिलो संस्करण आज गान्तोकको रिज पार्कमा शुरु भएको छ। उद्घाटन समारोहमा पश्चिम बंगाल सरकारका पर्यटन तथा संसदीय मामिलामन्त्री डा. शंकर घोष मुख्य अतिथिका रूपमा उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै डा. घोषले सिक्किम र पश्चिम बंगालमा पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै दुवै राज्यबीच सहकार्य बढाएर संयुक्त पर्यटन मार्ग विकास गर्नुपर्नेमा जोड दिए। उनले पर्यटकको सहज आवागमनका लागि अन्तरराज्यीय यातायात सम्पर्क सुधार, पर्यटक सवारीसाधनको निर्बाध आवतजावत तथा पर्यटकको रुचिसम्बन्धी तथ्याङ्क आदानप्रदान आवश्यक रहेको बताए। साथै नेपाल र भुटानजस्ता छिमेकी देशसँग सीमापार पर्यटनको सम्भावना खोज्नुपर्ने उल्लेख गर्दै २०२७ जनवरीमा पूर्वी तथा उत्तरपूर्वी राज्यहरूलाई समेटेर ‘लुक इस्ट समिट’ आयोजना गर्ने योजना रहेको जानकारी दिए।

उनले पश्चिम बंगाल पर्यटन विभागले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन मेलाहरूमा सहभागिता जनाएर राज्यको पर्यटन सम्भावना प्रवर्द्धन गर्ने बताए। पर्यटन क्षेत्रले आम्दानी र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख गर्दै आतिथ्य, सीप विकास, यातायात तथा भ्रमण व्यवसायसँग सम्बन्धित सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरे।पर्यटन तथा नागरिक उड्डयन एवं वाणिज्य तथा उद्योगमन्त्री छिरिङ थेन्डुप भोटियाले मेलाले देशभरि र छिमेकी मुलुकका पर्यटन व्यवसायी तथा सरोकारवालाबीच साझेदारी, व्यावसायिक अवसर र सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारले पूर्वाधार विकास, नयाँ पर्यटन गन्तव्यको पहिचान, सामुदायिक सहभागिता, सीप अभिवृद्धि तथा डिजिटल प्रवर्द्धनमार्फत पर्यटनलाई प्राथमिकता दिएको बताए।

उनले पदयात्रा, पर्वतारोहण, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, नदीमा जलयात्रा तथा साइकल यात्राजस्ता साहसिक पर्यटन गतिविधिमा सिक्किमको ठूलो सम्भावना रहेको उल्लेख गरे। ‘सिक्किम एड्भेन्चर टुरिज्म फेस्ट २०२६’, ‘सिक्किम राइडर्स मिट’ तथा ‘नर्थ इस्ट राइडर्स मिट’ जस्ता कार्यक्रमले साहसिक र फरक अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गरिरहेको बताए। साथै ग्रामीण पर्यटन, होमस्टे, सम्पदा पदयात्रा, गाउँका पदमार्ग, आध्यात्मिक पर्यटन तथा सम्मेलन र प्रदर्शनीमा आधारित पर्यटनलाई पनि विस्तार गर्नुपर्नेमा जोड दिए।

सिक्किमलाई वर्षैभरि पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्न पर्यटन उत्पादनमा विविधता ल्याउनुपर्ने बताउँदै उनले निजी क्षेत्र र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। पर्यटन जनतामा आधारित उद्योग भएकाले सेवा, व्यावसायिक दक्षता र आतिथ्य सत्कारको गुणस्तर कायम राख्न व्यवसायीहरूलाई आग्रह गरे। उनले पर्यटक प्रतिनिधिहरूलाई कम परिचित गन्तव्यहरू भ्रमण गर्न तथा मेलालाई दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न पनि आह्वान गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande