
गान्तोक, 21 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतम आज गान्तोकस्थित पाल्जोर स्टेडियम परिसरको इन्डोर ब्याडमिन्टन हलमा आयोजित ‘योनेक्स-सनराइज ४९औँ अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६’ को समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी बने। कार्यक्रम स्थलमा पुग्दा राज्यपाल तथा प्रथम महिला लक्ष्मी गौतमलाई परम्परागत रूपमा स्वागत गरिएको थियो।
पहिलोपटक सिक्किमले आयोजना गरेको यस राष्ट्रिय प्रतियोगितामा २८ राज्य र ५ केन्द्रशासित प्रदेशका ३३ टोलीबाट करिब ५०० युवा खेलाडीले सहभागिता जनाएका थिए।
समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिए। यस अवसरमा राज्यपालले देशको गौरव बढाउने प्रमुख खेल व्यक्तित्वहरूलाई सम्मान गरे। सम्मानित हुनेहरूमा ओलम्पियन तीरन्दाज तरुणदीप राई, तीरन्दाज धीरज बोम्मादेवरा, एसियाली खेलकुदका स्वर्ण पदक विजेता, विश्व च्याम्पियन तथा अर्जुन पुरस्कार प्राप्त ओजस देवताले (विश्व वरीयतामा दोस्रो तथा भारतमा पहिलो स्थान) र एसियाली खेलकुदमा तेस्रोपटक स्वर्ण पदक जितेकी विश्व च्याम्पियन सिमरनजीत कौर रहेका थिए।
राज्यपालले प्रतियोगिताको सफल आयोजनाका लागि भारतीय ब्याडमिन्टन सङ्घ तथा सिक्किम ब्याडमिन्टन सङ्घको प्रयासको प्रशंसा गरे। यस प्रतियोगिताले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगितामा पहिलोपटक पूर्ण महिला अध्यक्ष अम्पायरहरूको टोली समावेश गरेर भारतीय खेलकुद इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ।
यस अवसरमा राज्यपालले प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरूलाई पदक र ट्रफी प्रदान गरे।समारोहमा विधानसभा अध्यक्ष मिङ्गमा नोर्बु शेर्पा, शिक्षा तथा खेलकुद एवं युवा मामिलामन्त्री राजु बस्नेत, जनप्रतिनिधिहरू, राजनीतिक सल्लाहकार तथा सिक्किम ब्याडमिन्टन सङ्घका अध्यक्ष जेकब खालिङ, आयोजक समितिका सदस्यहरू, वरिष्ठ अधिकारीहरू, विभिन्न खेल सङ्घका प्रतिनिधिहरू, प्रशिक्षक, खेलाडी तथा ठूलो संख्यामा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल