
सान जुआन (प्युर्टो रिको), २५ नोभेम्बर (हि.स.)। प्युर्टो रिकोकी २७ वर्षीया जेनिफर बैरेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन्। सान जुआनमा आयोजित प्रतियोगिताको ७५औँ संस्करणमा ११६ देशका सुन्दरीहरूले सहभागिता जनाएका थिए। सबै प्रतिस्पर्धीलाई पछि पार्दै जेनिफरले उपाधि आफ्नो नाममा गरेकी हुन्।
विजेता जेनिफरलाई २०२५ की मिस युनिभर्स विजेता मेक्सिकोकी फातिमा बाशले ताज पहिराएकी थिइन्। यसपटक प्रतियोगिता प्युर्टो रिकोको सान जुआनस्थित जोस मिगुएल एग्रेलोट कोलिजियममा आयोजना गरिएको थियो। कैयौँ सातासम्म चलेको प्रतियोगितामा विभिन्न देशका संस्कृति, कला र प्रतिभाको प्रदर्शन गरिएको थियो।
प्रतियोगिताको ७५औँ संस्करणको अवसरमा विशेष ताजसमेत सार्वजनिक गरिएको थियो। ‘द रेडियन्स अफ एन इटर्नल लेगेसी’ नाम दिइएको उक्त ताज आभूषण डिजाइनर जर्ज विटल्सले पेरिसस्थित आभूषण गृह ‘मेसन डी'ओर’ सँगको सहकार्यमा तयार पारेका हुन्। १८ क्यारेट सेतो सुनबाट निर्मित ताजमा ३ हजार १५० वटा हिरा जडान गरिएको छ।
यसपटकको प्रतियोगिता भव्यतासँगै विभिन्न विवादका कारण पनि चर्चामा रह्यो। प्रवेशाज्ञासम्बन्धी समस्या तथा फ्रेन्चाइज विवादका कारण केही देशका प्रतियोगीले प्रतियोगिताबाट नाम फिर्ता लिनुपरेको थियो। यसैगरी, इजरायलकी प्रतियोगीको राष्ट्रिय पोसाकलाई लिएर सामाजिक सञ्जालमा विरोधसमेत भएको थियो।
भारतको केरलाकी १९ वर्षीया काजिया लिज मेजोले पनि प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनले शीर्ष ३० मा स्थान बनाएर भारतको प्रतिनिधित्व गरिन्। तर, स्विमसुट चरणपछि शीर्ष १२ मा पुग्न भने असफल रहिन्।
व्यवसायिक मोडलसमेत रहेकी कानुनकी विद्यार्थी काजियाले यसै वर्ष मिस युनिभर्स इन्डियाको उपाधि जितेकी थिइन्। यो उपाधि जित्ने उनी केरलाकी पहिलो महिला बनेकी थिइन्। यसअघि २०२४ मा उनले मिस टिन दिवाको उपाधि जितेकी थिइन् भने २०२५ को मिस टिन इन्टरनेसनल प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्दै प्रथम उपविजेता बनेकी थिइन्।