
काठमाडौँ, २५ नोभेम्बर (हि.स.)। नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुनजस्तो देखिने पहेँलो अर्धठोस धातुसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। उनीहरूबाट कुल २ किलो ३४८ ग्राम तौलको उक्त पदार्थ बरामद गरिएको छ। दुवै महिलाले शरीरको मलद्वार तथा भित्री वस्त्रमा लुकाएर हङकङबाट काठमाडौँ ल्याएको प्रारम्भिक जॉंचबाट खुलेको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सीमा शुल्क क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा शङ्कास्पद गतिविधि देखिएपछि दुवै महिलालाई जाँचका लागि नियन्त्रणमा लिइएको थियो।
पुलिसका अनुसार, दुवै महिला मङ्गलबार राति ११:१५ बजी क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौँ आइपुगेका थिए। उनीहरूको गतिविधि शङ्कास्पद देखिएपछि सुरक्षा अधिकारीहरूले खानतलासी गरेका थिए।
खानतलासीका क्रममा मलद्वार तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएका सुनजस्ता देखिने पहेँलो अर्धठोस पदार्थका आठवटा गोलाकार टुक्रा बरामद गरिएको थियो। प्लास्टिकसहित उक्त पदार्थको कुल तौल २ किलो ३४८ ग्राम रहेको बताइएको छ।
पक्राउ पर्नेमा चीनको गुवाङदोङ प्रान्तकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी पुलिस उपाधीक्षक ढुण्डीराज न्यौपानेका अनुसार, दुवै महिलालाई नियन्त्रणमा लिएर आवश्यक जॉंच भइरहेको छ। थप कानुनी कारबाहीका लागि उनीहरूलाई मङ्गलबार नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सीमा शुल्क कार्यालयमा बुझाइएको पुलिसले जनाएको छ।
बरामद पहेँलो अर्धठोस पदार्थको वास्तविक प्रकृति तथा त्यसमा रहेको सुनको मात्रा भने आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल