
इस्लामाबाद, २५ नोभेम्बर (हि.स.)। पाकिस्तानको अशान्त उत्तरपश्चिमी प्रान्त खैबर पख्तूनख्वामा सुरक्षा बलले गुप्त सूचनाका आधारमा सञ्चालन गरेका दुईवटा कारबाहीमा आठ आतङ्कवादी मारिएका छन्। पुलिसले बुधबार यसबारे जानकारी दिएको हो।
डन समाचार पत्रका अनुसार, सोमबार राति पेशावर जिल्लाको बडबेर क्षेत्रमा आतङ्कवाद नियन्त्रण विभाग (सीटीडी) ले सञ्चालन गरेको कारबाहीका क्रममा पाँच आतङ्कवादी मारिएका थिए। करिब २५ मिनेटसम्म चलेको गोली हानाहानमा समूहका प्रमुख कमान्डर ताज मोहम्मद उर्फ शिनय भने भाग्न सफल भए।
त्यसैगरी, मंगलबार बन्नू जिल्लाको घररेहा शाहजहाँ, किङ्गार र आसपासका गाउँमा सञ्चालन गरिएको अर्को कारबाहीमा ‘जरगुल उर्फ अंकल’ समूहका तीन आतङ्कवादी मारिए। यसअघि सोमबार पसानी गाउँमा भएको कारबाहीमा पनि तीन आतङ्कवादी मारिएका थिए। उनीहरूको साथबाट दुई थान कलाश्निकोभ राइफल, एउटा पेस्तोल, तीनवटा ह्यान्ड ग्रिनेड, पाँचवटा म्यागजिन तथा राष्ट्रिय परिचयपत्र बरामद गरिएको थियो।
पुलिसका अनुसार, मारिएका आतङ्कवादीमध्ये एक जना ‘जरगुल उर्फ अंकल’ का भतिजा हुन्। प्रतिबन्धित उक्त समूह पुलिस, सुरक्षा बल, स्थानीय शान्ति समितिका प्रमुख तथा सर्वसाधारणमाथि आक्रमण, जबर्जस्ती असुली र लुटपाटलगायतका अपराधमा संलग्न रहेको आरोप छ। आतङ्कवादीलाई सहयोग गरेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल