
सिलगढ़ी, ०६ नोभेम्बर (हि.स.)। दीपावलीअघि लागुऔषध विरुद्ध सञ्चालन गरिएको अभियानमा सिलगढ़ी मेट्रोपोलिटन पुलिसले ठूलो सफलता हासिल गरेको छ। भक्ति नगर थाना र स्पेशल अपरेशन ग्रुप (एसओजी) को संयुक्त कारबाहीमा लगभग दुई किलो ब्राउन शुगर सहित तीन जना तस्करलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार, पक्रा पर्नेहरूमा एमडी अली रमजान, शरीफुल इस्लाम र रबीउल मियाँ रहेका छन्। उनीहरूमध्ये एमडी अली रमजान र शरीफुल इस्लाम माल्दाको कालियाचकका निवासी हुन् भने रबीउल मियाँ बैष्णवनगरका बासिन्दा हुन्।
प्राप्त जानकारी अनुसार, बिहिवार राति गोप्य सूचनाका आधारमा पुलिसले पीसी मित्तल बस टर्मिनस क्षेत्रमा अभियान सञ्चालन गरेको थियो। यस क्रममा झोला बोकेर शङ्कास्पद अवस्थामा घुमिरहेका तीन युवकलाई पुलिसले रोकेर तलासी लिएको थियो। तलासीका क्रममा एक आरोपीको झोलाबाट एक किलो तथा अन्य दुई जनाबाट क्रमशः ५०२ ग्राम र लगभग ५०० ग्राम ब्राउन शुगर जफत भयो। कूल जफत लागुऔषधको परिमाण लगभग दुई किलो रहेको छ।
अनुसन्धानकर्ताहरूको प्रारम्भिक अनुमान अनुसार चाड़पर्वको मौसममा शहरमा ठूलो परिमाणमा लागुऔषध आपूर्ति गर्ने उद्देश्यले तीनै जना त्यहाँ पुगेका थिए। पक्रा परेका आरोपीहरूलाई जलपाइगुडी जिल्ला अदालतमा पेश गर्ने प्रक्रिया शुरु गरिएको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी