
यरुशलेम, 0६ नोभेम्बर (हि.स.)। इजरायलमा बिहीबार साँझ नयाँ सरकार गठनको बाटो खुलेको छ। ११ जना सांसद रहेको अरब दलहरूको गठबन्धन ‘जोइन्ट लिस्ट’ का नेताहरूले राष्ट्रपति इसाक हर्जोगसँग भेट गरेका छन्। भेटपछि उनीहरूले मध्यमार्गी गठबन्धनका नेता तथा पूर्व सेना प्रमुख ६६ वर्षीय गादी आइसेनकोटलाई समर्थन गर्ने पत्र राष्ट्रपतिलाई बुझाएका छन्। आइसेनकोट यशार पार्टीका नेता हुन्। उनले गत वर्ष पार्टी गठन गरेका थिए भने यस वर्ष निर्वाचनमा सहभागी भएका हुन्।
‘द यरुशलेम पोस्ट’ र ‘द टाइम्स अफ इजरायल’ को रिपोर्टअनुसार, गत साता सम्पन्न नेसेट (संसद्) निर्वाचनपछि विपक्षी समूह तथा अरब राजनीतिक दलहरू जोइन्ट लिस्ट र रा'अमको समर्थन प्राप्त भएपछि राजनीतिक समीकरण परिवर्तन भएको छ। यी दलहरूको समर्थनसँगै आइसेनकोटले १२० सदस्यीय नेसेटमा सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमतको आँकडा पार गरेका छन्। अरब दल रा'अमका आठ सांसद छन्। निर्वाचनमा आइसेनकोट नेतृत्वको गठबन्धनका ४८ जना उम्मेदवार विजयी भएका थिए।
देशमा सबैभन्दा लामो समय अर्थात् १९ वर्षसम्म सत्तामा रहेका बेन्जामिन नेतान्याहूले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सकेनन्। २७ अक्टोबरमा सम्पन्न निर्वाचनमा उनको गठबन्धनले ५३ सिट प्राप्त गरेको थियो। बिहिबार नेतान्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धनमा रहेको सात सांसद भएको पार्टी युनाइटेड टोरा जुडिज्म (यूटीजेड) ले गठबन्धनबाट अलग हुने घोषणा गर्यो। त्यसपछि राजनीतिक समीकरण परिवर्तन भएको छ। नेतान्याहू समूहसँग अब ४६ जना सांसद मात्र बाँकी रहेका छन्। यूटीजेडले हालका लागि नेसेटमा छुट्टै बस्ने निर्णय गरेको छ।
आइसेनकोटले इजरायललाई यहूदी राष्ट्रका रूपमा स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थाअनुसार देश सञ्चालन गर्ने बताएका छन्। हमासलाई आतङ्कवादी सङ्गठन मान्दै त्यसको सैन्य शक्तिलाई समाप्त पारिने उनले बताएका छन्। सेनामा भर्तीसम्बन्धी नियमहरू परिवर्तन गरिने तथा देश स्थापना हुँदाका बखत नागरिक अधिकारका लागि तय गरिएको आचारसंहिताको पालना गरिने पनि उनले बताएका छन्।
राष्ट्रपतिलाई आइसेनकोटको समर्थनमा पत्र बुझाउने जोइन्ट लिस्टमा तीन अरब दल हदाश, ताल र बलद रहेका छन्। रा'अमले भने छुट्टै निर्वाचन लडेको थियो।
राष्ट्रपति हर्जोगले नेसेटका निर्वाचित १२० सदस्यमध्ये ६७ जनाले आइसेनकोटको नाम सिफारिस गरेको बताएका छन्। उनले आइतबार आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी सुम्पिनेछन्। यसपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले एकताको आह्वान गरेको छ। नेतान्याहूले आफ्ना विरोधीहरूलाई विनाशकारी समूहको संज्ञा दिएका छन्। च्यानल १२ को रिपोर्टअनुसार, १० नोभेम्बरमा शपथग्रहण समारोह आयोजना गरिनेछ। शपथग्रहणपछि नेसेटका नयाँ सभामुख चयन गरिनेछ।
नेसेटका सभामुख अमिर ओहानाले कम्तीमा ६१ जना सांसदले औपचारिक रूपमा अनुरोध गरेमा आफ्नो उत्तराधिकारी चयन गर्नका लागि छलफलको समय निर्धारण गर्ने बताएका छन्। ओहाना लिकुड पार्टीका नेता हुन्।
अरब दल रा'अमले आइसेनकोटलाई समर्थन गर्दै रक्षा मामिलामा हस्तक्षेप नगर्ने बताएको छ। राष्ट्रपति हर्जोगसँगको भेटमा यस पार्टीका नेता मन्सुर अब्बासले हमासलाई स्पष्ट रूपमा आतङ्कवादी सङ्गठन स्वीकार गर्न भने अस्वीकार गरेका थिए। यद्यपि, उनले आतङ्कवाद र राजनीतिक हिंसाको पटक पटक निन्दा गर्दै हमासका हतियार खोसिनुपर्ने र उसलाई सत्ताबाट हटाउनुपर्ने बताएका छन्।
आइसेनकोटले आफ्नो सम्भावित सरकारमा सहभागी हुन चाहने दलहरूसामु हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा मान्यता दिनुपर्ने सर्त राखेका छन्। अब्बासले आइसेनकोटले राम्रो सरकार गठन गर्ने आशा व्यक्त गरेका छन्।
नेतान्याहूको सबैभन्दा लामो कार्यकाल
प्रधानमन्त्री नेतान्याहूको सत्ताबाट बाहिरिने निश्चितजस्तै देखिएको छ। उनी इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्तिका रूपमा चिनिनेछन्।
उनले पहिलो कार्यकाल तीन वर्षका लागि १८ जून, १९९६ देखि ६ जुलाई, १९९९ सम्म पूरा गरेका थिए। उनको दोस्रो कार्यकाल ३१ मार्च, २००९ देखि १३ जून, २०२१ सम्म अर्थात् १२ वर्ष रह्यो। उनको तेस्रो कार्यकाल भने जारी छ। उनले २९ दिसम्बर, २०२२ मा प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए।
आइसेनकोटले सम्हालिसकेका छन् आईडीएफको कमान्ड
आइसेनकोटले इजरायल रक्षा बल (आईडीएफ) को नेतृत्व गरिसकेका छन्। पूर्व सेना प्रमुख यस निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका प्रमुख राजनीतिक प्रतिद्वन्द्वीका रूपमा देखिएका छन्।
आइसेनकोटले १९७८ मा साधारण सैनिकका रूपमा आफ्नो सैन्य जीवन शुरु गरेका थिए। उनी २०१५ देखि २०१९ सम्म आईडीएफका २१औँ सेना प्रमुख रहेका थिए। यस पदमा पुग्ने उनी मिजराही यहूदी पृष्ठभूमिका पहिलो व्यक्ति हुन्। सैन्य रणनीतिमा उनको ‘दहिया सिद्धान्त’ चर्चित रहेको छ।
सेनाबाट अवकाश पाएपछि उनले २०२२ मा राजनीतिमा प्रवेश गरेका थिए। सेप्टेम्बर २०२५ मा उनले आफ्नै पार्टी गठन गरे। १९ मई, १९६० मा टिबेरियस शहरमा जन्मिएका आइसेनकोट अब देशको नेतृत्व सम्हाल्ने तयारीमा छन्।
हिन्दुस्थान समाचार / बिशाल