
नयाँ दिल्ली, ०६ नोभेम्बर (हि.स.)। सेमीकन इन्डिया २.० वेब एप्लिकेशन पोर्टलको शुक्रवार शुभारम्भ गरिएको छ। यस अवसरमा इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङ योजना (ईसीएमएस) अन्तर्गत स्वीकृत १२ जना आवेदकहरूको सूची पनि सार्वजनिक गरिएको छ। कार्यक्रममा केन्द्रिय मन्त्री अश्विनी वैष्णवले इलेक्ट्रोनिक्स उद्योगको विस्तारलाई आत्मनिर्भर भारतको दिशामा महत्त्वपूर्ण कदम बताउँदै देश तयार उत्पादनबाट मोड्युल, कम्पोनेन्ट र त्यसपछि कच्चा पदार्थ उत्पादन गर्ने दिशामा चरणबद्ध रूपमा अघि बढ़िरहेको बताए।
सेमीकन इन्डिया २.० वेब एप्लिकेशन पोर्टलबारे वैष्णवले सरकारले सेमिकन्डक्टर कार्यक्रमका दोस्रो, तेस्रो र चौथो स्तम्भ अन्तर्गत आवेदन स्वीकार गर्न शुरु गर्ने बताए। यो भारतको इलेक्ट्रोनिक्स तथा सेमिकन्डक्टर उत्पादन सम्बन्धी पारिस्थितिक प्रणालीलाई सुदृढ़ बनाउने दिशामा अर्को कदम हो। उनले आजका स्वीकृतिपछि देशभरि इलेक्ट्रोनिक्स कम्पोनेन्ट उत्पादनसँग सम्बन्धित कूल ११८ वटा एकाइ स्थापना भइरहेको जानकारी दिए। यीमध्ये कैयौँ एकाइले घरेलु माग पूरा गर्नुका साथै निर्यातलाई पनि बढ़िवा दिन सक्षम हुनेछन्।
उनले भारतमा मोबाइल फोन उत्पादन शुरु हुँदा विपक्षी दलले यसलाई ‘पेचकस प्रविधि’ भन्दै खारेज गरेको बताए। तर अहिले देशमा इलेक्ट्रोनिक्स उपकरणका लागि आवश्यक कम्पोनेन्टका साथै तिनको उत्पादनमा प्रयोग हुने सामग्री र मेशिनहरू पनि उत्पादन भइरहेका छन्।
वैष्णवले इलेक्ट्रोनिक्स उद्योगले हाल लगभग २५ लाख मानिसलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिए। ब्याट्री सेल, एनोड र क्याथोड सामग्री जस्ता महत्त्वपूर्ण कम्पोनेन्टका लागि भारत पहिले धेरै हदसम्म एउटा विदेशी देशमा निर्भर थियो। अहिले यी सामग्रीको घरेलु उत्पादन शुरु भएपछि आयातमाथिको निर्भरता घट्दै गएको छ। एनोड–क्याथोड सामग्री, कपर फोइल, लचिलो तथा २० तहसम्मका पीसीबी, अप्टिकल ट्रान्ससिभर, रिले र क्यापेसिटर जस्ता उत्पादन पनि भारतमै निर्माण भइरहेका छन्।
यस अवसरमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनले सेमीकन इन्डिया २.० अन्तर्गत सेमिकन्डक्टर उपकरण तथा सामग्री सहित तीन प्रमुख क्षेत्रमा आवेदन आमन्त्रण गर्न वेब पोर्टल शुरु गरिएको बताए। यस योजनालाई कूल १.२७ लाख करोड़ रुपियाँको बजेट सहित शुरु गरिएको हो। यस अन्तर्गत छह वटा स्तम्भ निर्धारण गरिएका छन्।
उनले इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङ योजना अन्तर्गत आज १२ वटा नयाँ परियोजना शुरु भइरहेको जानकारी दिए। यी परियोजनामा ७ हजार ५०३ करोड़ रुपियाँ लगानी हुनेछ। तिनको उद्देश्य इलेक्ट्रोनिक्स तथा सेमिकन्डक्टर उत्पादनका प्रारम्भिक चरणमा घरेलु क्षमता विकास गर्नु रहेको छ।
उनी अनुसार, हालसम्म कूल ७७ हजार ५१ करोड़ रुपियाँको लगानीलाई स्वीकृति दिइसकिएको छ। उत्पादनको लक्ष्य ४.५६ लाख करोड रुपियाँबाट बढ़ाएर ५.७३ लाख करोड़ रुपियाँ पुर्याइएको छ। त्यस्तै, रोजगारीको लक्ष्य ९१ हजार ६०० रहेकोमा हालसम्म ८१ हजार ७५५ जनाका लागि रोजगारीका अवसर सिर्जना भएका छन्।
ईसीएमएस अन्तर्गत १६ राज्यमा ३४ प्रकारका उत्पादनसँग सम्बन्धित ११८ वटा आवेदनलाई पनि स्वीकृति दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी