जिल्लास्तरीय कृषि मेलामा प्रगतिशील कृषकहरू सम्मानित
जिल्लास्तरीय कृषि मेलामा प्रगतिशील कृषकहरू सम्मानित


सोरेङ, 06 नोभेम्बर (हि.स.)। कृषि विभागअन्तर्गत कृषि प्रविधि प्रबन्धन एजेन्सी (आत्मा) ले बागवानी विभागसँगको सहकार्यमा आज सोरेङ जिल्लामा जिल्लास्तरीय कृषि मेला आयोजना गर्‍यो। कार्यक्रममा रिन्चेनपोङ निर्वाचन क्षेत्रका विधायक इरुङ तेन्जिङ लेप्चा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। जिल्लाका छवटै खण्डका प्रगतिशील कृषक, स्वयं सहायता समूह तथा अन्य सहभागीका गरी १५० भन्दा बढीको सहभागिता रहेको मेलामा विभिन्न प्रदर्शनी कक्षहरू राखिएका थिए।

मेलामा कृषि तथा बागवानी उत्पादन, प्रशोधित खाद्यवस्तु, ताजा तरकारी, फूल, हस्तकला तथा स्थानीय उत्पादनका विभिन्न प्रदर्शनी कक्षहरूको अवलोकन गरिएको थियो। कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक प्रणय गुरुङले विभागद्वारा सञ्चालित विभिन्न योजनाहरू, कृषकले प्राप्त गर्न सक्ने सुविधाहरू तथा ती सुविधा लिन पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी दिए।मङ्गलबारेका एसडीएम डीएन शर्माले महकुमाअन्तर्गत सञ्चालन भइरहेका कृषि तथा बागवानी गतिविधिबारे प्रकाश पारे। उनले छनोट गरिएका क्षेत्रमा तोरी खेती, ग्रीनहाउसको संरक्षण तथा कार्यालय परिसरमा विभिन्न बालीको खेतीजस्ता गतिविधिको जानकारी दिँदै बाँझो जमिनको पुनः उपयोगका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।कार्यक्रमको मुख्य आकर्षणका रूपमा कृषि तथा बागवानी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रगतिशील कृषकहरूलाई आत्मा पुरस्कारद्वारा सम्मानित गरियो। यसअन्तर्गत एक जिल्लास्तरीय तथा छवटा खण्डस्तरीय पुरस्कार प्रदान गरियो।जिल्लास्तरीय पुरस्कार मैता माया राईलाई प्रदान गरियो। खण्डस्तरीय पुरस्कार प्राप्त गर्नेहरूमा कालुकका कुसाङ किन्जाङ भोटिया, चुम्बुङका सन्तकुमार राई, बैगुनेका मेसाक राई, मङ्गलबारेका लाक्पा छिरिङ तामाङ, सोरेङका देवकुमार दाहाल र दारामदिनकी मनमत्ती सुब्बा रहेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै विधायक इरुङ तेन्जिङ लेप्चाले प्रगतिशील कृषकहरूलाई प्रोत्साहन तथा सफलताको अवसर प्रदान गर्न आत्मा, कृषि विभाग र बागवानी विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले जैविक उत्पादनबाट आम्दानी वृद्धि गर्न मूल्य अभिवृद्धिको महत्त्व औँल्याउँदै कृषकहरूलाई कृषि उपकरण, ट्याङ्की तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने पहलको प्रशंसा गरे। उपलब्ध सरकारी योजना तथा सुविधाको प्रभावकारी उपयोग गर्दै आत्मनिर्भरतातर्फ अघि बढ्न उनले कृषकहरूलाई आग्रह गरे।स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा सक्रिय कृषक उद्यमीहरूको प्रयासको प्रशंसा गर्दै उनले सामूहिक तथा समूहमा आधारित खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिए। यसले स्थानीय अर्थतन्त्र सुदृढ गर्नुका साथै कृषकहरूको जीविकोपार्जनमा सुधार ल्याउने उनले बताए। साथै, पुरस्कृत सबै कृषकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande