बंगलादेश फर्कनुअघि शेख हसिनाद्वारा नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्रको माग
शेख हसीना।  फोटो - इंटरनेट मीडिया


नयाँ दिल्ली/लन्डन, ०९ नोभेम्बर (हि.स.)। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कनुअघि नयाँ बंगलादेशी पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न माग गरेकी छन्।

उनका कानुनी सल्लाहकारमार्फत नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोगमा औपचारिक पत्र पठाउँदै नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न अनुरोध गरिएको हो।

लन्डनस्थित म्याट्रिक्स चेम्बर्सका अधिवक्ता स्टिभन पावेल्स केसीले भारतका लागि बंगलादेशकी कार्यवाहक उच्चायुक्त प्रीति रहमानलाई सम्बोधन गर्दै पठाएको पत्रमा अन्तरिम सरकार तथा अन्य अधिकारीहरूले हसिनाको पुरानो पासपोर्ट र राष्ट्रिय परिचयपत्र रद्द गरेको उल्लेख गरिएको छ।

पत्रमा हसिनाको बंगलादेशी नागरिकतालाई आधार बनाउँदै देशको कानुन तथा अन्तरराष्ट्रिय मानव अधिकारसम्बन्धी प्रावधानअनुसार नयाँ कागजात जारी गर्नुपर्ने माग गरिएको छ। साथै, आवश्यक प्रक्रिया र कागजातबारे जानकारी गराउन उच्चायोगसँग आग्रह गरिएको छ।

उल्लेखनीय छ, भारतमा करिब साढे दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेकी हसिनाले आगामी दिसम्बरमा स्वदेश फर्किने घोषणा गरिसकेकी छन्। उनले आफू र आफ्नो दल अवामी लिगमाथि लगाइएका आरोपको लोकतान्त्रिक ढङ्गले सामना गर्ने बताएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande