
यरुशलम, ०९ नोभेम्बर (हि.स.)। इजराइलका राष्ट्रपति इसाक हर्जोगले विपक्षी दल यशारका नेता गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा निमन्त्रणा दिएका छन्। राष्ट्रपतिले आइतबार आइसेनकोटलाई सरकार गठनका लागि छ हप्ताको समय दिएका हुन्।
राष्ट्रपति निवासमा आयोजित समारोहमा स्थानीय समयअनुसार आइतबार साँझ ५ बजी उनलाई सरकार गठनको आधिकारिक आदेश हस्तान्तरण गरिएको थियो। १२० सदस्यीय इजरायली संसद् नेसेटका ६७ सदस्यको समर्थन प्राप्त गरेका आइसेनकोटले अब निर्धारित समयभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ।
पूर्व सैन्य प्रमुखसमेत रहेका आइसेनकोटले आफूले ‘राष्ट्रिय आपतकाल सरकार’ गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले देश बहुआयामिक सुरक्षा चुनौती, अन्तरराष्ट्रिय प्रतिष्ठामा आएको गिरावट तथा लोकतन्त्रको संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्।
उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सत्ताबाट हटाएर देशमा नयाँ राजनीतिक युगको शुरुवात गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सरकार गठनका लागि रचनात्मक तथा परम्परागतभन्दा फरक राजनीतिक प्रयास गर्ने बताउँदै उनले पुनः निर्वाचन गराउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।
यद्यपि, सरकार गठनको बाटो सहज देखिएको छैन। आइसेनकोटलाई समर्थन गर्ने गठबन्धनमा ४८ सदस्यीय यहुदी नेतृत्वको समूह र १९ सदस्यीय अरब नेतृत्वको समूह रहेका छन्। अरब समूहले उनको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने वा कम्तीमा विपक्षमा मतदान नगर्ने प्रतिबद्धता जनाएको छ। तर, यहुदी समूहका केही सदस्यले अरब दलहरूको समर्थनमा आधारित सरकारमा सहभागी नहुने बताएका छन्।
यस परिस्थितिमा आइसेनकोटले अल्पमतको सरकार गठन गर्ने वा लामो समयदेखि नेतन्याहुको सहयोगी रहेका अति रूढिवादी यहुदी दलहरूसँग सहकार्य गर्ने भन्ने विषय अनिश्चित बनेको छ। उनले भने आफ्नो राजनीतिक सिद्धान्त स्वीकार गर्ने जुनसुकै दलका लागि गठबन्धनको ढोका खुल्ला रहेको बताएका छन्।
राष्ट्रपति हर्जोगले इजराइललाई वर्तमान चुनौतीको सामना गर्न स्थिर र बलियो सरकार आवश्यक रहेको बताएका छन्। उनले आइसेनकोट र नेतन्याहु दुवै सहभागी हुने सरकार गठनको सम्भावनासमेत औँल्याएका छन्। तर, आइसेनकोटले नेतन्याहुको नेतृत्वमा काम नगर्ने स्पष्ट पारिसकेका छन्।
राष्ट्रपति हर्जोगका अनुसार सरकार गठनको सम्भावनाबारे विभिन्न दलसँग गरिएको परामर्शका क्रममा नेसेटका अधिकांश सदस्यले आइसेनकोटलाई स्पष्ट समर्थन जनाएका थिए। यद्यपि, २७ सिटसहित नेतन्याहुको लिकुड पार्टी संसद्को सबैभन्दा ठूलो दलका रूपमा कायम छ।
राष्ट्रपतिले इजराइलका सबै नागरिकको आवाज समान महत्त्वको रहेको उल्लेख गर्दै राजनीतिक विचारधारा, धर्म वा जीवनशैलीका आधारमा कसैलाई विभेद गर्न नहुने बताएका छन्।