
नयाँ दिल्ली, ०९ नोभेम्बर (हि.स.)। वन्दे भारत एक्सप्रेसप्रति यात्रुहरूको बढ्दो आकर्षणको अनुमान यस तथ्यबाट लगाउन सकिन्छ कि देशको एउटा रेलमार्गमा यसको यात्रु क्षमता उपयोग (यात्राका क्रममा सिटको प्रयोग) १८९.३५ प्रतिशतसम्म पुगेको छ। अर्थात् उपलब्ध सिटको तुलनामा यात्रुको माग झन्डै १.९ गुणा रहेको छ।
आर्थिक वर्ष २०२५-२६ मा करिब ३.९८ करोड यात्रुले वन्दे भारतबाट यात्रा गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३४ प्रतिशत बढी हो। बढ्दो मागलाई ध्यानमा राख्दै रेल मन्त्रालयले अब वन्दे भारतको सेवा कुर्सी सिटयुक्त रेलबाट विस्तार गरी शयनयान सेवासम्म पुर्याएको छ।
विशेष कुरा के छ भने, देशको पहिलो वन्दे भारत एक्सप्रेस २०१९ को फरवरीमा दिल्ली-वाराणसी रेलमार्गमा सञ्चालन गरिएको थियो। अहिले त्यही रेलमार्गमा रेलमन्त्री अश्विनी वैष्णवले हालै नयाँ वन्दे भारत शयनयान रेललाई हरियो झण्डा देखाएका छन्। यसको नियमित सेवा नोभेम्बर २ देखि शुरु भइसकेको छ।
दक्षिण भारतको मंगलुरु-तिरुवनन्तपुरम रेलमार्गमा सबैभन्दा बढी यात्रु क्षमता उपयोग दर्ता गरिएको छ। यसैबीच, हावडा-कामाख्या रेलमार्गमा सञ्चालन भएको पहिलो वन्दे भारत शयनयान रेलले पनि कुल ११४.५४ प्रतिशत यात्रु क्षमता उपयोग दर्ता गरेको छ।
रेलवेका आधिकारिक कागजातमा उल्लेखित आर्थिक वर्ष २०२५-२६ का तथ्याङ्कले वन्दे भारतप्रति बढ्दो मागको चित्र प्रस्तुत गरेका छन्। रेलवे बोर्डको जनसम्पर्क निर्देशनालयले वन्दे भारत रेलहरूको आम्दानी, यात्रु क्षमता उपयोग र समयपालनसम्बन्धी विवरण मागेको थियो। यसको जवाफमा टीजी-१ शाखाले विभिन्न रेलहरूको यात्रु क्षमता उपयोगको विवरण उपलब्ध गराएको थियो।
उक्त विवरणअनुसार, सबैभन्दा बढी यात्रु क्षमता उपयोग मंगलुरु सेन्ट्रल र तिरुवनन्तपुरम सेन्ट्रलबीच सञ्चालन हुने वन्दे भारत एक्सप्रेसमा देखिएको छ। रेल नम्बर २०६३२ (तिरुवनन्तपुरम सेन्ट्रलदेखि मंगलुरु सेन्ट्रल) को यात्रु क्षमता उपयोग १८९.३५ प्रतिशत रहेको छ भने रेल नम्बर २०६३१ (मंगलुरु सेन्ट्रलदेखि तिरुवनन्तपुरम सेन्ट्रल) को १७४.७७ प्रतिशत दर्ता गरिएको छ। अर्थात् दुवै दिशामा यस रेलको यात्रु क्षमता उपयोग १७० प्रतिशतभन्दा बढी रहेको छ।
१०० प्रतिशतभन्दा बढी यात्रु क्षमता उपयोग देखिनु पहिलो दृष्टिमा अचम्मलाग्दो लाग्न सक्छ। यसले रेलमा सिटको सङ्ख्या निश्चित हुँदा यात्रु क्षमता उपयोग १८९ प्रतिशत कसरी हुन सक्छ भन्ने प्रश्न उठाउँछ। वास्तवमा, यात्रु क्षमता उपयोग भन्नाले कुनै एक समयमा रेलमा रहेका यात्रुहरूको सङ्ख्या नभई सम्पूर्ण यात्राका क्रममा सिटको प्रयोगलाई जनाउँछ।
लामो दूरीका रेलहरूमा विभिन्न स्टेसनबीच यात्रुहरू ओर्लने र चढ्ने गर्छन्। एक जना यात्रु ओर्लिएपछि त्यही सिटमा अर्को स्टेसनबाट अर्को यात्रुले यात्रा शुरु गर्न सक्छ। यसरी एउटै सिट विभिन्न यात्रा खण्डमा पटक-पटक प्रयोग हुन्छ र कुल यात्रु क्षमता उपयोग १०० प्रतिशतभन्दा बढी हुन सक्छ।
त्यसैले १८९.३५ प्रतिशतको अर्थ रेलमा एकै समयमा निर्धारित सिट सङ्ख्याभन्दा झन्डै दोब्बर यात्रु बसेका थिए भन्ने होइन। बरु, उक्त रेलमार्गमा सिटको कुल माग र उपयोगको अवस्था हो।
वन्दे भारतप्रतिको बढ्दो मागको प्रभाव यात्रु सङ्ख्यामा पनि देखिएको छ। रेल मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०२५-२६ मा करिब ३.९८ करोड यात्रुले वन्दे भारत एक्सप्रेसबाट यात्रा गरेका छन्, जबकि आर्थिक वर्ष २०२४-२५ मा यो सङ्ख्या २.९७ करोड थियो। यसरी एक वर्षमा यात्रु सङ्ख्यामा करिब ३४ प्रतिशत वृद्धि भएको छ।
वन्दे भारत सेवा शुरु भएदेखि अप्रिल २०२६ सम्म ९.१ करोडभन्दा बढी यात्रुले यी रेलहरूबाट यात्रा गरिसकेका थिए। यस अवधिमा करिब एक लाख यात्रा सम्पन्न भएका थिए। यात्रु सङ्ख्याका आधारमा नयाँ दिल्ली–-वाराणसी रेलमार्ग सबैभन्दा अगाडि रहेको छ, जहाँ अहिलेसम्म ७३ लाखभन्दा बढी यात्रुले वन्दे भारतबाट यात्रा गरेका छन्।
२०२६ अक्टोबर ३१ मा वाराणसीमा रेलमन्त्री अश्विनी वैष्णव र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसी-नयाँ दिल्ली वन्दे भारत शयनयान रेललाई हरियो झण्डा देखाएका थिए। रेल नम्बर २७४२१ वाराणसीदेखि नयाँ दिल्ली र रेल नम्बर २७४२२ नयाँ दिल्लीदेखि वाराणसीसम्म सञ्चालन भइरहेको छ। यसको नियमित व्यावसायिक सेवा नोभेम्बर २ देखि शुरु भइसकेको छ। यो उत्तर प्रदेशको पहिलो र देशको दोस्रो वन्दे भारत शयनयान सेवा हो।
यसअघि देशको पहिलो वन्दे भारत शयनयान रेल २०२६ जनवरीमा हावडा र कामाख्याबीच सुरु गरिएको थियो। आर्थिक वर्ष २०२५-२६ का उपलब्ध तथ्याङ्कअनुसार, रेल नम्बर २७५७५ (हावडादेखि कामाख्या) को यात्रु क्षमता उपयोग १२७.६६ प्रतिशत रहेको थियो भने फर्कने क्रममा रेल नम्बर २७५७६ (कामाख्यादेखि हावडा) को यात्रु क्षमता उपयोग १०३.५४ प्रतिशत दर्ता गरिएको थियो। दुवै दिशाको औसत जोड्दा यस शयनयान सेवाको कुल यात्रु क्षमता उपयोग ११४.५४ प्रतिशत रहेको थियो। यसरी लामो दूरीको रात्रिकालीन यात्राका लागि शुरु गरिएको वन्दे भारत शयनयान रेललाई पनि यात्रुहरूको राम्रो साथ मिलेको छ। नोभेम्बर २०२६ मा बेङ्गलुरु र मुम्बईबीच पनि अर्को वन्दे भारत शयनयान सेवा सुरु गरिएको छ।
नयाँ दिल्ली-वाराणसी रेलमार्गमा यसअघि सञ्चालन हुँदै आएका कुर्सी सिटयुक्त वन्दे भारतका चारवटै सेवाको यात्रु क्षमता उपयोग पनि ११४ प्रतिशतभन्दा बढी रहेको छ। रेल नम्बर २२४१५ (वाराणसीदेखि नयाँ दिल्ली) को यात्रु क्षमता उपयोग ११७.२६ प्रतिशत र रेल नम्बर २२४१६ (नयाँ दिल्लीदेखि वाराणसी) को ११४.०५ प्रतिशत दर्ता गरिएको छ।
यसै रेलमार्गको दोस्रो सेवाअन्तर्गत रेल नम्बर २२४३५ (वाराणसीदेखि नयाँ दिल्ली) को यात्रु क्षमता उपयोग ११७.२५ प्रतिशत र रेल नम्बर २२४३६ (नयाँ दिल्लीदेखि वाराणसी) को ११५.१९ प्रतिशत रहेको छ। अर्थात्, यस रेलमार्गमा सञ्चालन हुने चारवटै कुर्सी सिटयुक्त सेवामा उपलब्ध सिटको तुलनामा यात्रुको माग बढी देखिएको छ।
यस्तो अवस्थामा देशभरि हाल कति वटा वन्दे भारत रेल सञ्चालनमा छन् र यसबाट रेलवेले कति आम्दानी गरिरहेको छ भन्ने प्रश्न उठेको छ। रेल मन्त्रालयले जुलाई २३ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार, देशभरि ८१ जोडी अर्थात् १६२ वटा वन्दे भारत कुर्सी सिटयुक्त सेवा सञ्चालनमा थिए।
त्यसपछि हावडा-कामाख्याबाहेक वाराणसी-नयाँ दिल्ली र बेङ्गलुरु-मुम्बईबीच तीन जोडी शयनयान सेवा शुरु भइसकेका छन्। यसरी उपलब्ध आधिकारिक सेवा सूची र नोभेम्बरमा शुरु भएका नयाँ सेवासमेत जोड्दा देशभरि ८१ जोडी कुर्सी सिटयुक्त र तीन जोडी शयनयान सेवा गरी कुल ८४ जोडी अर्थात् दुवै दिशामा चल्ने १६८ वटा रेल सेवा सञ्चालनमा रहेका छन्।
यहाँ एक जोडी भन्नाले दुवै दिशामा सञ्चालन हुने दुईवटा रेल सेवालाई जनाउँछ।
आम्दानीका हिसाबले पनि वन्दे भारतका तथ्याङ्क रोचक छन्। यद्यपि, देशभरिका वन्दे भारत रेलहरूको छुट्टाछुट्टै कुल आम्दानीको एकीकृत तथ्याङ्क रेलवेले सार्वजनिक गरेको छैन। संसद्मा दिइएको जवाफअनुसार, रेलवेले प्रत्येक रेलको आम्दानीको छुट्टै अभिलेख राख्दैन। वन्दे भारतबाट हुने आम्दानी भारतीय रेलवेको कुल यात्रु आम्दानीमा समावेश हुन्छ।
यसका बावजुद क्षेत्रीय तथ्याङ्कले यसको आम्दानीको अनुमान गर्न सकिन्छ। दक्षिण रेलवेका वन्दे भारत सेवाहरूले आर्थिक वर्ष २०२४-२५ मा ५४०.६५ करोड रुपैयाँ यात्रु आम्दानी गरेका थिए। यो रकम आर्थिक वर्ष २०२५-२६ मा बढेर ८०३.८६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अर्थात्, एक वर्षमा करिब २६३ करोड रुपैयाँको वृद्धि दर्ता भएको छ। यो तथ्याङ्क दक्षिण रेलवेअन्तर्गतका सेवाहरूको मात्र हो, देशभरिका वन्दे भारत रेलहरूको कुल आम्दानी होइन।
आर्थिक वर्ष २०२५-२६ मा भारतीय रेलवेको कुल यात्रु आम्दानी करिब ८० हजार करोड रुपैयाँ रहेको थियो। यो आर्थिक वर्ष २०२४-२५ को ७५ हजार ५०० करोड रुपैयाँको तुलनामा करिब ५.९६ प्रतिशत बढी हो। यस कुल यात्रु आम्दानीमा वन्दे भारतको छुट्टै हिस्सा कति छ भन्ने कुरा सार्वजनिक तथ्याङ्कमा स्पष्ट पारिएको छैन।
देशभरि सञ्चालन भइरहेका वन्दे भारत कुर्सी सिटयुक्त रेलहरूको समग्र यात्रु क्षमता उपयोग आर्थिक वर्ष २०२५-२६ मा ९९.१० प्रतिशत दर्ता गरिएको थियो। त्यस्तै, उपलब्ध तथ्याङ्कअनुसार वन्दे भारत शयनयान रेलहरूको कुल यात्रु क्षमता उपयोग ११४.५४ प्रतिशत रहेको छ।
ध्यान दिनुपर्ने कुरा के छ भने, शयनयान रेलको यो तथ्याङ्क हावडा-कामाख्या सेवाको हो। वाराणसी-नयाँ दिल्ली र बेङ्गलुरु-मुम्बईका नयाँ शयनयान सेवाहरू नोभेम्बर २०२६ मा सुरु भएका कारण यस आर्थिक वर्षको यात्रु क्षमता उपयोगसम्बन्धी तथ्याङ्कमा समावेश गरिएका छैनन्।
यसरी वन्दे भारत सेवा सुरु भएको सात वर्षपछि यसको सञ्जाल कुर्सी सिटयुक्त रेलबाट विस्तार भएर शयनयान सेवासम्म पुगेको छ। दक्षिण भारतको एउटा रेलमार्गमा १८९.३५ प्रतिशत यात्रु क्षमता उपयोग, शयनयान सेवामा ११४.५४ प्रतिशतको औसत तथा एक वर्षमै यात्रु सङ्ख्यामा ३४ प्रतिशत वृद्धि हुनुले यस सेवाप्रतिको बढ्दो मागलाई दर्शाउँछ।
आर्थिक वर्ष २०२५-२६ मा करिब ३.९८ करोड यात्रुले वन्दे भारतबाट यात्रा गरेका थिए, जबकि आर्थिक वर्ष २०२४-२५ मा यो सङ्ख्या २.९७ करोड थियो। यसरी यात्रु सङ्ख्यामा करिब ३४ प्रतिशत वृद्धि भएको छ। अप्रिल २०२६ सम्म यी रेलहरूबाट कुल ९.१ करोडभन्दा बढी यात्रुले यात्रा गरिसकेका थिए। नयाँ दिल्ली-वाराणसी रेलमार्गमा मात्रै अहिलेसम्म ७३ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी