
खरसाङ, 03 फरवरी (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 10 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ टाउन कमिटीको सभा आज वार्ड कमिटीको अध्यक्ष महिपाल खातीको अध्यक्षतामा सम्पन्न भयो।
सभामा खरसाङ नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्कीले भनिन्, वार्डमा विभिन्न सामाजिक संस्थाहरू भए पनि वार्ड एउटै हो। त्यसर्थ सबै जना वार्डकाे विकासको निम्ति एकत्रित हुनु आवश्यक छ। उनले आज पहाड़मा शान्ति स्थापित हुनुको श्रेय जीटीए प्रमुख अनित थापालाई जान्छ भन्दै भविष्यमा पनि पहाड़लाई वर्तमान जस्तै शान्तिपूर्ण बनाइराख्न अनि सर्वाङ्गीण विकास सुनिश्चित गर्न एकमात्र विकल्प अनित थापा रहेको बताइन्।
भागोप्रमो खरसाङ टाउन कमिटीका सह प्रचार सचिव रवि ताेलङ्गीले वार्डमा भइरहेका विभिन्न् विकासका कार्यहरूको बारेमा जानकारी गराउॅंदै पहाड़ विकासको निम्ति एकमात्र विकल्प भनेको भागोप्रमो अध्यक्ष अनित थापा रहेको ठोकुवा गरे। केन्द्रिय समिति नारी शक्तिकी सांगठनिक सचिव मैया ठकुरीले आगामी चुनाउलाई लिएर सबै सतर्क बसिदिन र पार्टीद्वारा चयनित उम्मेदवारलाई जिताउनको निम्ति एकत्रित भएर कार्य गरिदिन आग्रह गरिन्।
खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले चुनाउमा पार्टीद्वारा चयन गरिएको उम्मेदवारलाई जिताउनु हामी सबैको राजनैतिक धर्म रहेको बताए। उनले सभालाई निरन्तरता दिँदै वार्ड नम्बर 1 देखि 20 सम्म बूथ कमिटीहरू गठन गरिने जानकारी दिए।
सभामा संगठनलाई सुचारु रूपले सञ्चालन गर्न र पुरानो कमिटीलाई अझै बलियो बनाउनको निम्ति थप पार्टी कार्यकर्ताहरूलाई पदभार सुम्पियो।
हिन्दुस्थान समाचार / हनोक