
गान्तोक, 03 फरवरी (हि.स.)। नाम्चीका वरिष्ठ कथाकार थिरूप्रसाद नेपाललाई तेस्रो 'लीलबहादुर क्षत्री पुरस्कार' प्रदान गरिने भएको छ। 'लीलबहादुर क्षत्री फाउन्डेसन' का अध्यक्ष डा कमल छेत्रीले हिजो पुरस्कारको घोषणा गरे। वरिष्ठ कथाकार नेपाललाई उनको कथा सङ्ग्रह 'श्रवणकुमारको देशमा' का लागि यो पुरस्कार प्रदान गरिने भएको छ।
आगामी १ मार्च, २०२६ का दिन गुवाहाटीको शङ्करदेव कला क्षेत्रमा आयोजित हुन गइरहेको लीलबहादुर क्षत्रीको ९४औँ जन्म जयन्तीको भव्य कार्यक्रममा यो पुरस्कार प्रदान गरिने फाउन्डेसनले बताएको छ। यस पुरस्कारको लागि हरेक साल तिनजना जुरीको चयन गरिन्छ भने जुरीकै निर्णयअनुसार पुरस्कार घोषणा गरिन्छ भनी फाउन्डेसनले स्पष्ट गरेको छ। पुरस्कारमा नगद राशि, अङ्गवस्त्र र मानपत्र अर्पण गरिन्छ।
फाउन्डेसनले भनेको छ, नेपाली साहित्यका प्रख्यात आख्यानकार, भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मानित असमका लीलबहादुर क्षत्रीको नाउँमा स्थापित 'लीलबहादुर क्षत्री फाउन्डेसन' ले विगत तिन वर्षदेखि 'लीलबहादुर क्षत्री पुरस्कार' नाउँको एक पुरस्कार प्रदान गर्दै आएको छ। नेपाली आख्यान साहित्यमा विशिष्ट योगदान पुर्याउने आख्यानकार अथवा कुनै उत्कृष्ट कृतिलाई यो पुरस्कारले सम्मानित गरेको देखिन्छ।
सन् २०२४ देखि थालिएको यो पुरस्कार थाप्ने पहिलो आख्यानकार 'रिमाननी घाटका कथाकार' का रूपमा चिनिने तेजपुर असमका कथाकार खड्गबहादुर कौशिक थिए। दोस्रो वर्ष २०२५ मा डुवर्सेली कवि तथा कथाकार अबीर खालिङलाई यस पुरस्कारले सम्मानित गरिएको थियो।
यसपालि पुरस्कारका लागि चयनित कथाकार नेपालको जन्म ११ मई, १९५७ मा सिक्किमको नाम्चीमा भएको हो। नेपालले अहिलेसम्म नेपाली साहित्यलाई आठवटा नेपाली कथा सङ्ग्रह र दुईवटा कविता सङ्ग्रह उपहार दिएका छन्। उनको एउटा हिन्दी कथा सङ्ग्रह पनि प्रकाशित भएको छ भने उनका केही कथा अङ्ग्रेजी, राजस्थानी, हिन्दी, बङ्गला आदि भाषामा अनूदित भएका छन्। नेपाली साहित्यको क्षेत्रमा आफ्ना उल्लेखनीय योगदानहरूका लागि उनी विभिन्न पुरस्कारहरूले पुरस्कृत भएका छन्।
हिन्दुस्थान समाचार / बिशाल