
नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बोस्थित पवित्र गंगारामय मन्दिरमा भगवान बुद्धका पवित्र देवनीमोरी अवशेषहरूको प्रदर्शनी उद्घाटन गरेकोमा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेप्रति आभार व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले बिहिबार सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अलग–अलग पोस्टमार्फत भने, अप्रेल २०२५ मा आफ्नो श्रीलङ्का भ्रमणका क्रममा यी पूजनीय अवशेषहरू श्रीलङ्कामा ल्याउने निर्णय गरिएको थियो, ताकि त्यहाँका जनताले नजिकबाट दर्शन गरी श्रद्धा अर्पण गर्न सकून्। यो पहल भारत र श्रीलङ्काबीचका गहिरा सभ्यतागत तथा आध्यात्मिक सम्बन्धको प्रतीक हो, जुन शताब्दीयौँदेखि साझा विरासत र सांस्कृतिक आदान–प्रदानमार्फत सुदृढ़ हुँदै आएको छ।
प्रधानमन्त्रीले पवित्र देवनीमोरी अवशेषहरूको श्रीलङ्का आगमन दुवै देशबीचको स्थायी आध्यात्मिक बन्धनको प्रमाण रहेको उल्लेख गरेका छन्। उनले भने, भगवान बुद्धको शाश्वत सन्देश—करुणा, शान्ति र सद्भाव मानवतालाई सधैं मार्गदर्शन गरिरहनेछ र सीमाभन्दा पर एकता तथा आपसी समझदारीलाई प्रोत्साहन गर्नेछ।
यसअघि बुधबार श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले ‘एक्स’ मा पोस्ट गर्दै भगवान बुद्धसँग सम्बन्धित अवशेषहरू प्रदर्शनीका लागि कोलम्बो ल्याउने मार्ग सहज बनाइदिएकोमा प्रधानमन्त्री मोदी र भारत सरकारप्रति आभार व्यक्त गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी