
कोलकाता, १० मार्च (हि.स.)। पश्चिम बंगालमा हुने आगामी विधानसभा चुनाउको तयारीका बीच मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार मंगलबार बिहान बेलूर मठ र दक्षिणेश्वरस्थित भवतारिणी मन्दिरमा दर्शन गर्न पुगे। यस क्रममा उनले राज्यमा हिंसामुक्त र शान्तिपूर्ण चुनाव गराउन निर्वाचन आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
तीन दिने पश्चिम बंगाल भ्रमणमा आएका ज्ञानेश कुमार मंगलबार बिहान करिब सात बजे बेलूर मठ पुगे। त्यहाँ उनले मुख्य मन्दिरमा पूजा-अर्चना गरे र मठका अध्यक्ष स्वामी गौतमानन्द महाराजसँग भेट गरी उनका आशीर्वाद लिए। उनी करिब ४५ मिनेटसम्म मठ परिसरमा बसे।
बेलूर मठबाट बाहिरिएपछि उनले पत्रकारहरूसँग कुरा गर्दै यसपटकको चुनाउमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने विषयमा विशेष ध्यान दिइने बताए। निर्वाचन आयोग राज्यमा शान्तिपूर्ण र हिंसामुक्त मतदान सुनिश्चित गर्न दृढ़ संकल्पित रहेको उनले बताए।
बेलूर मठबाट निस्किएपछि ज्ञानेश कुमार दक्षिणेश्वरस्थित भवतारिणी मन्दिर पनि पुगे। त्यहाँ जाँदा उनलाई कालो झण्डा देखाइएको आरोप पनि लागेको छ। यसअघि सोमबार मुख्य निर्वाचन आयुक्तले राज्यका पुलिस तथा प्रशासनिक अधिकारीहरूसँग बैठक गरेका थिए। साथै उनले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल गरेका थिए। बैठकपछि निर्वाचन आयोगको पूर्ण पीठले केही स्थानमा समस्या हुन सक्ने भए पनि राज्यमा विधानसभा चुनाउ गराउनका लागि अनुकूल वातावरण रहेको निष्कर्ष निकालेको थियो।
उता तृणमूल कांग्रेसले मुख्य निर्वाचन आयुक्तविरुद्ध संसदमा महाभियोग प्रस्ताव ल्याउने तयारी शुरु गरेको छ। मुख्य निर्वाचन आयुक्त संवैधानिक पद भएकाले यस्तो पदमा रहेका व्यक्तिविरुद्ध महाभियोग प्रस्ताव ल्याउन कम्तीमा १०० सांसदको हस्ताक्षर आवश्यक पर्छ। लोकसभा र राज्यसभामा मिलाएर तृणमूल कांग्रेसका जम्मा ४१ सांसद रहेका छन्। त्यसैले उक्त प्रस्ताव अगाडि बढाउन पार्टीले समान विचारधारा भएका अन्य दलका सांसदहरूको समर्थन जुटाउनुपर्नेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी