
मङ्गन, 11 मार्च (हि.स.)। सिक्किम इन्स्पायर्स अन्तर्गत कार्यक्रमहरूको कार्यान्वयनलाई लिएर आज मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय बैठक आयोजन गरियो। जिल्लापाल अनन्त जैनको अध्यक्षतामा बसेको उक्त बैठकमा एसडीएम सन्दिप कुमार, एडीसी डा. सोनाम रिन्छेन लेप्चा, बीडीओ कैलाश थापा लगायत अन्यहरू उपस्थित थिए।
बैठकमा कार्यक्रमहरूको प्रगतिको समीक्षाका साथै जिल्लामा गरिने प्रमुख गतिविधिहरूमा छलफल गरियो। प्रत्येक ब्लक कार्यालयमा सिक्किम इन्स्पायर्स सुविधा केन्द्रहरूको स्थापना, ब्लक र जिल्ला स्तरमा नवप्रवर्तन चुनौतीको लागि योजना बनाउने र स्थानीय उद्यमीहरूलाई सहयोग गर्न बजार शेड र समर्थन पूर्वाधारको विकासबारे पनि छलफल गरियो।
यस अतिरिक्त, बैठकले ब्लक सुविधा केन्द्रहरूको स्थापना, जिल्ला टोली अभिमुखीकरण र वित्तीय समावेशीकरण, डिजिटल समावेशीकरण लगायत मार्च महिनाका लागि योजना गरिएका अन्य गतिविधिहरूमा पनि छलफल गऱ्यो। अधिकारीहरूलाई स्थानीय रूपमा उत्पादित सामानको बजारीकरणमा सहयोग गर्न बजार विकास गर्ने दिशामा काम शुरु गर्न पनि आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल