
खरसाङ, 12 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन अनि खरसाङ नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्कीको पहलमा खरसाङको मारवाडी भवनमा आज खरसाङ युनाइटेड क्रिश्चियन ग्रेभयार्ड कमिटीसँग सभा सम्पन्न भयो।
केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा समितिका चुनाउ प्रभारी समीरदीप ब्लोनको अध्यक्षतामा सम्पन्न भएको सभामा पास्टर पवल योञ्जनले खरसाङ बजार क्षेत्रमा इसाईहरूका लागि दाह संस्कार क्षेत्रकाे अभावका कारण विगत २१ वर्षदेखि वर्तमानसम्म भोग्दै आइरहेको समस्याहरूकाे बारेमा जानकारी गराए। खरसाङ ग्रेस चर्चका पास्टर राजेन घतराजले खरसाङ क्षेत्रमा हाल 35 हजारभन्दा अधिक इसाईहरू रहेको र सबैले नै दाह संस्कार स्थानकाे कमीकाे समस्या भोग्दै आइरहेको बताए।
उनले खरसाङका 13 वटा चर्चलाई एकत्रित गरेर खरसाङ युनाइटेड ग्रेभयार्ड कमिटी गठन गरिएको बताउॅंदै जीटीए प्रमुख अनित थापाले यस गम्भीर समस्याको समाधान निश्चय नै गरिदिने छन् भनी विस्वास व्यक्त गरे।
सभालाई सम्बोधन गर्दै सभाध्यक्ष समीरदीप ब्लोनले कुनै पनि समस्याकाे समाधान स्थायी रूपमा गर्नको निम्ति सठीक ढंगमा पहल हुन् आवश्यक रहेको बताए। उनले खरसाङ वरिपरि मात्र नभई विभिन्न क्षेत्रमा बसोबासो गर्ने इसाईहरूको ग्रेभयार्डको समस्या समाधानका लागि पहल गर्दै जीटीए प्रमुखसॅंग भेटघाटको चॉंजो मिलाउने आश्वासन दिए।
उनले आगामी विधानसभा चुनाउमा खरसाङ विधानसभा क्षेत्रका लागि अमर लामा योग्य उम्मेदवार हुन् भन्दै चुनाउमा इसाई समाजबाट पूर्ण सहयोगको आशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक