तीन महिनादेखि सडकमा बस्दै आएका वृद्धलाई सहयोगी हातले उद्धार गऱ्यो
सहयोगी हातको सहयोगमा महानदीबाट एकजना असहाय वृद्धको उध्दार


खरसाङ, 12 फरवरी (हि.स.)। महानदीको तल्लो तिरसठ लाइन क्षेत्रमा केही महिनादेखि रोडमा बस्दै आएका एकजना वृद्ध व्यक्तिलाई आज सहयोगी हात सामाजिक कल्याण संगठनले खहरे वृद्धश्रमको सहयोगमा उद्धार गरेको छ। वृद्धलाई स्थानीय मानिसहरुले भोजन र लुगाफाटा दिएर सहयोग गर्दै आएका थिए। अर्कातिर, यस क्षेत्रमा चितुवाको रगरगी र आगामी वर्षाको मौसमलाई ध्यानमा राख्दै स्थानीयहरूले वृद्धलाई उद्धार गरिदिन निवेदन गरेका थिए।

सहयोगी हातकी प्रमुख सुमित्रा राईले जानकारी पाएपछि बुधवार उक्त क्षेत्रको निरीक्षण गरिन्। उनले यस विषयमा तीनधारे आउट पोस्ट र खरसाङ टाउन आउट पोस्टमा पनि जानकारी गराएकी थिइन्। उनको पहलपछि खरसाङ टाउन आउट पोस्टका पुलिस प्रभारी शुभंकर रोय र सिभिक भोलेन्टियर रुबिना विश्वकर्म र अन्यको सहयोगमा वृद्धलाई आज उद्धार गरिएको छ।

सुमित्रा राईले जानकारी गराए अनुसार, वृद्धको नाम नटवर महतो हो। उनी दिल्लीको छतरपुर निवासी हुन्। वृद्धलाई पुलिस प्रशासनको सहयोगमा महानदीबाट उद्धार गरेर तकदाहस्थित मिशनेरी अफ् च्यारिटी प्रेमदान भवनमा लगिएको छ। उनले उद्धार कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

वृद्धबारे बोल्दै स्थानीयहरु गोपी छेत्री र इशारा छेत्रीले भने, वृद्ध विगत तीन महिनादेखि महानदीको तल्लो तिरसठ लाइनमा रोडमा बस्दै थिए। वृद्धलाई स्थानीयहरूले भोजन र लुगाहरु दिइरहेका थिए। यस क्षेत्रमा चितुवाको रगरगी र वर्षाको मौसममा खतरा हुने भएकाले असहाय व्यक्तिलाई कसैले उद्धार गरिदिए हुने थियो भन्ने लागेको थियो। सहयोगी हातले वृद्धको उद्धार गरेकोमा आभार व्यक्त गर्दछौं।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande