मेघालयको पीआइबी मिडिया टोलीद्वारा मुख्यमन्त्री तामाङसँग भेटवार्ता
मेघालयको पीआइबी मिडिया टोलीद्वारा मुख्यमन्त्री तामाङसँग भेटवार्ता


विकास पहल अनि मिडिया सहकार्यबारे विवेचना

गान्तोक, 12 फरवरी (हि.स.)। पत्र सूचना कार्यालय (पीआईबी), शिलङको तत्वावधानमा सिक्किमको 6 दिने अध्ययन भ्रमणमा आएको मिडिया टोलीका प्रतिनिधिहरूद्वारा 11 मार्चको दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको सरकारी निवास मिन्तोकगाङमा भेटवार्ता गरियो।

मेघालयको छापा, इलेक्ट्रनिक तथा डिजिटल मिडिया सङ्गठनलाई प्रतिनिधित्त्व गर्ने पत्रकारहरूको टोली सिक्किमको विकास पहल, शासनको प्राथमिकता अनि पर्यटन प्रवर्धनबारे प्रत्यक्ष जानकारी जुटाउन सिक्किमको अध्ययन भ्रमणमा आएका हुन्। उक्त जानकारी आज पीआईबी सिक्किमले दिएको छ।

मिडिया टोलीलाई स्वागत जनाउँदै मुख्यमन्त्री तामाङले पत्रकारहरूसँग संवादको क्रममा वहनीय विकास, पर्यावरण संरक्षण तथा समाज कल्याणको क्षेत्रमा चालिएका महत्त्वपूर्ण कदमहरूबारे अवगत गराए। समावेशी विकासका साथै विकासको लाभ तृणमूल स्तरका समुदायसम्म पुग्ने सुनिश्चित गर्नु राज्यको उच्च प्राथमिकता रहेको उनले प्रकाश पारे।

संवादको क्रममा मुख्यमन्त्रीले राज्यमा प्रत्येक शिशुको जन्ममा 108 वटा रुखको बिरुवा रोपनको विशेष कार्यक्रम “मेरो रुख, मेरो सन्तति” पहलबारे जानकारी दिए। यस पहलले साङ्केतिक रूपमा शिशुको जन्मलाई पर्यावरण संरक्षणसँग जोड्नका साथै परिवारलाई राज्यको प्राकृतिक संसाधन जोगाउनका लागि सहभागी बन्न प्रोत्साहित गर्ने उनले बताए।

सिक्किमको कूल प्रजनन दर (टीएफआर) निरन्तर घटिरहेको सन्दर्भमा राज्यमा शिशुको जन्मलाई प्रोत्साहित गर्नुको महत्त्वबारे पनि रेखाङ्कित गरे। यस सन्दर्भमा परिवार बढाउनका साथै आमा अनि शिशुको हित सुनिश्चित गर्न राज्य सरकारद्वारा शुरु गरिएका विभिन्न सुविधा अनि सहायक पहलबारे उनले जानकारी दिए।

लागू औषधिको दुरूपयोग विरुद्ध राज्य सरकारको शून्य सहिष्णु नीतिबारे बोल्दै विशेष गरी युवा जमातमा लागू पदार्थको दुरूपयोग अनि तस्करी विरुद्ध कडा कार्वाहीमाथि जोड दिए। लागू पदार्थ विरुद्धको लडाईमा प्रबल सामुदायिक सहभागिताका साथमा दिगो जागरूकता प्रयास आवश्यक ठहरिने उनले बताए।

राज्यमा पर्यटकहरूको बढ्दो प्रवाहबारे बोल्दै आज राज्यको अर्थनीतिका लागि पर्यटन प्रमुख स्तम्भका रूपमा स्थापित भइरहेको बताए। सरकारले आगन्तुकहरूको सुरक्षा, आरामका साथैराज्यको प्राकृतिक सौन्दर्य अनि सांस्कृतिक विरासतको खोजसँगै अविस्मरणीय अनुभव सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको पनि अवगत गराए। उन्नत कनेक्टिभिटीको महत्त्वबारे प्रकाश पार्दै राज्यको निम्ति रेलमार्ग हाल निर्माणाधीन रहेको र 2027 सम्म पूरा हुने आशा व्यक्त गर्दै यसले हिमाली राज्यमा सञ्चार अनि सुगम्यता उल्लेखनीय रूपमा सहज बनाउने उल्लेख गरे।

विवेचनाको क्रममा, मुख्यमन्त्री तामाङले सिक्किममा पत्रकारहरूलाई प्रदान गरिने पेन्सन लगायत अन्य सामाजिक सुरक्षा लाभ लगायतका पत्रकारहरूलाई सहयोग पुऱ्याउने कल्याण उपायहरू प्रदान गरिएको विषयमा पनि जानकारी गराए। मेघालयमा पनि त्यस प्रकारको प्रावधान रहेको विषयमा सोधखोज गर्दै मिडियाकर्मीका लागि संस्थागत सहयोग सुदृढ बनाउन आवश्यक रहेको बताए। जीवन्त लोकतन्त्रमा सञ्चार माध्यमले खेल्ने महत्त्वपूर्ण भूमिका स्वीकार गर्दै पारदर्शिता प्रोत्साहित गर्न, सही सूचना प्रसारित गर्न र जनमानसलाई सरकारसँग जोड्न पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेल्ने पनि मुख्यमन्त्री श्री तामाङले बताए।

यस प्रकारको मिडियाकर्मीका लागि अध्ययन भ्रमणले संवाद अनि विभिन्न क्षेत्रबीच ज्ञानको विनिमयका लागि बहुमूल्य अवसर प्रदान गर्ने उनले बताए। यस प्रकारको पहलले सर्वोत्तम कार्यपद्धति, विकासीय अनुभव अनि राज्यहरूबीच अभिनव विचार साझा गर्ने मञ्चको काम गर्ने उनले उल्लेख गरे।

अतिथि पत्रकारहरूले राज्यको जैविक खेतीमाथि बल, प्रभावी ट्राफिक प्रबन्धन, शान्तिपूर्ण साथै व्यवस्थित वातावरणसहित समग्र विकास अनि सिक्किमको शासन आदर्शको सराहना गरे। यसका साथै टोलीका सदस्यहरूले भ्रमणको क्रममा अनुभव गरेको स्वच्छताको उच्च मानक, प्रभावी लोक प्रशासन अनि सुशासनको प्रचलनको पनि प्रशंसा गरे। यसै गरी सिक्किमका जनमानसको न्यानो अतिथि सत्कार अनि मिलनसार स्वभावले मिलेर वहनीय विकास अनि उत्तरदायी पर्यटनको निम्ति आदर्श राज्य बनाउन योगदान पुऱ्याइरहेको कुराको पनि सराहना गरे।

अतिथि पत्रकारहरूले वर्तमान अध्ययन भ्रमणबारे आफ्नो धारणा साझा गर्दै विभिन्न संस्थान, सांस्कृतिक स्थलका साथमा राज्यको सामरिक स्थानहरूको भ्रमण गर्ने अवसर पाएकोमा आभार व्यक्त गरे।

मिडिया टोलीको नेतृत्त्व पत्र सूचना कार्यालय, शिलङका सहायक निर्देशक श्री गोपाजीत दासले गरेका थिए। पीआइपी शिलङद्वारा पत्रकारहरूको अध्ययन भ्रमणलाई पीआइबी गान्तोकका सहायक निर्देशक श्री मानसप्रतीम शर्माले समन्वयन गर्दै सिक्किमको भ्रमणलाई सुगम बनाएका थिए। यस अवसरमा आइपीआर सचिव श्रीमती अन्नापूर्ण आले, मुख्यमन्त्रीका प्रेस सचिव श्री यौगन तामाङ तथा आइपीआर निर्देशक श्री सुनिल मोथे पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande