19 देखि 22 मार्चसम्म 'प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल' आयोजना हुने
'प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल'


19 देखि 22 मार्चसम्म 'प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल' आयोजना हुने


- सिक्किमलाई फिल्म निर्माण र सांस्कृतिक आदान-प्रदानका लागि गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्य

गान्तोक, 12 फरवरी (हि.स.)। सिक्किममा आगामी 19 देखि 22 मार्च, 2026 सम्म 'प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल' आयोजना हुने भएको छ। यस फिल्म महोत्सवको उद्देश्य सिनेमा कलाको उत्सव मनाउनु तथा सिक्किमलाई फिल्म निर्माण र सांस्कृतिक आदान-प्रदानको लागि उदीयमान गन्तव्यको रूपमा प्रवर्द्धन गर्नु रहेको छ। यस महोत्सवलाई देश र विदेशका फिल्म निर्माताहरू, कलाकारहरू, समीक्षकहरू र सिनेमा उत्साहीहरूलाई एकै ठाउँमा ल्याउने मञ्चको रूपमा पनि परिकल्पना गरिएको छ, जसले संवाद र सहकार्यलाई बढावा दिनेछ।

सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव (एसआईएफएफ) को आयोजना सिक्किम सरकारको सूचना एवं जन सम्पर्क विभाग (आईपीआर) ले भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालय र भारतीय राष्ट्रिय फिल्म विकास निगमको संयुक्त तत्वावधानमा गरिरहेको छ।

आईपीआर विभागले राजधानीमा आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा सिक्किम सङ्गीत, नाटक, नृत्य र चलचित्र बोर्डका अध्यक्ष टाशी छिरिङ भोटियाले भने, 'सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सवको आयोजना फिल्म संस्कृतिलाई सुदृढ़ बनाउने र रचनात्मक प्रतिभालाई अर्थपूर्ण मञ्च प्रदान गर्ने राज्यको एक महत्त्वपूर्ण उपलब्धि हो। सिनेमा एक शक्तिशाली माध्यम हो जसले संस्कृति, विचार र मानिसहरूलाई जोड्छ। एसआईएफएफ मार्फत हामी सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र रचनात्मक क्षमतालाई विश्वव्यापी फिल्म समुदायमा प्रदर्शन गर्ने लक्ष्य राखेका छौं।' उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र संरक्षणमा २०१९ देखि सिक्किम रचनात्मक अर्थतन्त्रको लागि एक विशिष्ट केन्द्रको रूपमा विकसित भएको बताए।

आईपीआर विभागका अध्यक्ष अशित राईले भने, 'सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव यस्तो समयमा आयोजना भइरहेको छ, जब सिक्किमले भारत र विदेशमा आफ्नो उपस्थिति दर्ता गर्दै फिल्म निर्माताहरूको युगको आगमनको साक्षी बनिरहेको छ।' यस फिल्म महोत्सवले अर्थपूर्ण आदान-प्रदान र सहकार्यको लागि मञ्च प्रदान गर्ने र सिक्किमलाई विश्वका फिल्म निर्माताहरूका लागि अनुकूल गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

आईपीआर विभागकी सचिव अन्नपूर्ण आलले महोत्सव राजधानीका तीन स्थान मनन केन्द्र, वेस्ट पोइन्ट मल र चिन्तन भवनमा आयोजना हुने बताइन्। उनले यस चार दिवसीय फिल्म महोत्सव राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्रहरूको विशेष प्रदर्शनका साथै छलफल, मास्टरक्लास र चलचित्र जगतका प्रख्यात व्यक्तित्वहरूसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुने जानकारी गराइन्। उनले यस महोत्सवलाई सांस्कृतिक उत्सवको रूपमा मात्र नभई चलचित्र, कथावाचन र रचनात्मक सहकार्यको लागि सिक्किमलाई एक गन्तव्यको रूपमा स्थापित गर्ने रणनीतिक कदमको रूपमा परिकल्पना गरिएको बताइन्।

उनले महोत्सवको एउटा प्रमुख आकर्षण सत्यजित रेको सिक्किममाथि निर्मित ऐतिहासिक वृत्तचित्र समावेश रहेको बताइन्। फिल्म प्रदर्शन बाहेक महोत्सवले एसआईएफएफ बजार पनि आयोजना गर्ने उनले बताइन्, जसले फिल्म सह-निर्माण, वितरण अवसरहरू र उद्योग साझेदारीलाई प्रोत्साहित गर्नेछ।

यसरी नै मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले भने महोत्सव अन्तर्गत चलचित्र निर्माताहरू र सिनेमा व्यवसायीहरूसँग अन्तरक्रिया, छलफल र संलग्नता सहितको विशेष कार्यक्रम हुने बताए, जसले चलचित्र निर्माताहरू, कला र कला क्षेत्रबीच संवाद, ज्ञान आदान-प्रदान र सहकार्यको लागि एक जीवन्त मञ्च प्रदान गर्नेछ। उनले यस महोत्सवले फिल्म तथा अन्य रचनात्मक क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि प्रेरणा प्राप्त गर्ने बहुमूल्य अवसर प्रदान गर्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande