
गान्तोक, 12 फरवरी (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवलाई नयाँ दिल्लीमा भेटेर राज्यसँग सम्बन्धित प्रमुख रेलवे सम्पर्क परियोजनाहरूबारे छलफल गरेका छन्।
यस भेटका क्रममा सांसद सुब्बाले मल्लीदेखि देन्तामसम्म प्रस्तावित रेलवे लाइनको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) बारे छलफल गरे। उनले केन्द्रिय मन्त्रीलाई सिक्किम तुलनात्मक रूपमा कम जनसंख्या भएको सानो राज्य भए पनि प्रस्तावित रेलवे लाइन राज्यका जनताका लागि अत्यन्त महत्त्वपूर्ण हुने अवगत गराए। उनले यो परियोजनाले क्षेत्रमा सम्पर्क सुधार गर्नुका साथै सिक्किमको रणनीतिक स्थानलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण रहेको बताए।
यसैगरी, सांसद सुब्बाले रम्फूदेखि रानीपुलसम्मको रेलवे लाइनको लागि हालै स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बारे पनि छलफल गरे र यसको चाँडै कार्यान्वयनको महत्त्वमा जोड दिए। उनले यस परियोजनाको समयमै कार्यान्वयनले राज्यमा रेल सम्पर्कलाई अझ सुदृढ़ बनाउने तथा यातायात र पहुँच बढाएर जनतालाई फाइदा पुर्याउने बताए।
सांसदले सिक्किममा रेलवे पूर्वाधार र सम्पर्क सुधार गर्न केन्द्रिय रेलमन्त्रीको निरन्तर सहयोगको लागि कृतज्ञता व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल