
खरसाङ, 15 मार्च (हि.स.)। खरसाङ महकुमा खेलकूद संघका एक कर्मठ सदस्य मोहनकुमार राईको असमायिक निधनमा संघका सदस्यहरुले तिनको आत्मशान्तिको निम्ति संघकै कार्यालयमा एउटा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियाे।कार्यक्रममा दिवंगतकाे तस्विरमा धूप द्विप प्रज्योलन गरियो भने संघका सदस्यहरुद्वारा पुष्पमाला अर्पण गरियो र एक मिनटको मौन धारण गरियो।
संघका सचिव निर्मल गुरुङले मोहन राईको निधनमा गहिरो शोक व्यक्त गर्दै तिनी केवल खरसाङ महकुमा खेलकूद संघका मात्र नभई खेलप्रेमी मानिसहरुको निम्ति एक उदहारण प्रस्तुत गर्ने व्यक्ति थिए भनी बताए। तिनको खेलप्रतिको योगदान सारा खरसाङले कहिले भुल्ने छैन भन्दै गुरुङले स्व. राई एक असल व्यक्तित्वका धनी थिए भने।
संघका अध्यक्ष मोहन योञ्जनले स्व मोहनकुमार राईको निधनले संघलाई एउटा ठूलो बज्रपात भएको बताए। यस्तै प्रकारले संघका उपाध्यक्ष फुर्बा घिसिङले स्व राई हुँदा संघले कुनै पनि खेलकूद प्रतियोगिताहरु निर्धक्क प्रकारले खेलाउने गर्थे भनी बताए। कार्यक्रमलाई विजय राई, ललित सेवा, दिब्यत्तम अधिकारीले पनि सम्बाेधन गरेका थिए।
ज्ञात रहोस् स्व. मोहनकुमार राई आफ्नो सैनिक जीवनदेखि अवकाश ग्रहण गरी सन 2007 मा खरसाङ महकुमा खेलकूद संघसित जोड़िएका थिए। त्यसपछि संघले आयोजना गरेका सबै खेलकूद प्रतियोगिताहरुलाई सफल बनाउनमा तिनको भूमिका महत्वपूर्ण रहन्थ्ये।
---------------
हिन्दुस्थान समाचार / हनोक