खरसाङमा 8 औं अन्तर डोजो कराते च्याम्पियनशीप 2026 सम्पन्न
Karate


खरसाङ, 16 मार्च (हि.स.)। 8औं अन्तर डोजो कराते च्याम्पियनशीप 2026 आज खरसाङको सुपर मार्केट कम्युनिटी हलमा आयोजना गरियो। प्रतियोगितामा सोनादा, सिपाहीधुरा, सिंगेल, खरसाङ, रोहिणी, सुकना र सिक्किमका सहभागीहरूले भाग लिए।

खरसाङको सेइशिंकाई शितो-र्यु कराते डोद्वारा आयोजना गरिएको यस च्याम्प्यिनशीपलाई मार्शल आर्ट एण्ड फिटनेस एकाडेमी माफाद्वारा प्रायोजित गरिएको थियो। एकाडेमीले प्रत्येक वर्ष मार्च महिनामा यो कार्यक्रम आयोजना गर्दछ, जसमा विद्यार्थीहरूलाई उनीहरूको उपलब्धिको आधारमा विभिन्न च्याम्पियनशीपमा भाग लिन छनोट गरिन्छ।

यस वर्ष युवाहरूको श्रेणीमा 'बेस्ट फाईटर' रोहिणी शाखाका सुबियन दियाली र युवतीहरुका श्रेणीमा रितिका दियालीलाई पुरस्कृत गरियो। युवाहरू तर्फको 'बेस्ट टिम काटा' खरसाङ शाखाका प्रयाण सुब्बा, इशान्त प्रधान र अगस्त्य छेत्रीलाई प्रदान गरिएको भने युवतीहरू तर्फको 'बेस्ट टिम काटा' सिंगेल शाखाका शिएस्ता लामा, श्रेया थापा र आरुषि छेत्रीलाई प्रदान गरियो।

बेस्ट फाइटरहरू प्रत्येकलाई दुई हजार रुपियाँ नगद पुरस्कार र ट्रफी प्रदान गरियो। यसरी नै बेस्ट टिम काटा विजेता प्रत्येकलाई तीन हजार नगद पुरस्कार र ट्रफी प्रदान गरियो। टिम च्याम्पियन पुरस्कार खरसाङ शाखालाई प्रदान गरियो भने सोनादा शाखा उपविजेता बन्यो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande