
गान्तोक, 16 मार्च (हि.स.)। राज्यका नागरिकहरूको घरदैलोमा शासन ल्याउने पहल अन्तर्गत मुख्यमन्त्री कार्यालयले सबै ३४ खण्ड प्रशासनिक केन्द्र (बीएसी) हरूमार्फत बीपीएल वर्गका लाभार्थीहरूलाई कल्याणकारी सहायताको वितरण शुरु गरेको छ। यस क्रममा १६ मार्चका दिन धेरै बीएसीको बीपीएल वर्गका लाभार्थीहरूले मुख्यमन्त्री चिकित्सा सहायता योजना, मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री शिक्षा सहायता योजना साथै सरकारी रोजगारका अवसरहरू अन्तर्गत सहायता प्राप्त गरे।
मुख्यमन्त्री कार्याल्यका अनुसार, ‘कनेक्ट टु सीएम’ मञ्च अन्तर्गत ‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमको एक भागको रूपमा आयोजित उक्त कार्यक्रममा सबै बीएसीहरू जोडिएका थिए, जसमा सम्बन्धित खण्ड विकास अधिकारीहरू, विधायकहरूका ओएसडीहरू, सीएलसी अध्यक्षहरू, पञ्चायतहरू र मुख्यमन्त्री कार्यालयका अधिकारीहरू सहभागी थिए। गत १० मार्चका दिन ‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका क्रममा मुख्यमन्त्री पीएस तामाङले भिडियो कन्फरेन्स मार्फत लाभार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै घोषणा गरेअनुसार राज्यभर सरकारी सहायताको वितरण भइरहेको छ।
बीपीएल वर्गका योग्य लाभार्थीहरूसम्म सहयोग पुग्ने कुरा सुनिश्चित गर्न कठोर, बहु-स्तरीय र पारदर्शी प्रमाणीकरण प्रक्रिया मार्फत लाभार्थीहरू छनोट गरिएको बताइएको छ। ‘कनेक्ट टु सीएम’ को यो मञ्चले बीपीएल लाभार्थीहरूलाई सरकारी कार्यालयहरूसम्म लामो दूरी यात्रा गर्नु नपर्ने कुरा सुनिश्चित गर्दछ, जसले गर्दा नागरिकहरूलाई मुख्यमन्त्री र सरकारी प्रतिष्ठानसँग जोडिनको लागि सुविधाजनक र पारदर्शी माध्यम स्थापित हुन्छ।
हिन्दुस्थान समाचार / बिशाल