
गान्तोक, 17 मार्च (हि.स.)। सिक्किमका स्थानीय बालीहरूबाट बेकरी उत्पादन सम्बन्धी तीन दिने प्रदर्शन तथा सीप विकास कार्यक्रम 12 देखि 14 मार्च, २०२६ सम्म लोअर नान्डोक, रानीपुलमा सम्पन्न भयो। यस कार्यक्रमको आयोजना स्वयं सहायता समूहहरूका लागि कलेज अफ एग्रिकल्चरल इन्जिनियरिङ एण्ड पोस्ट हार्भेस्ट टेक्नोलोजी, रानीपुल र दिव्य ज्योति समाजसँगको सहकार्यमा गरिएको थियो।
यस कार्यक्रमको उद्देश्य स्वयं सहायता समूह (एसएचजी) का सदस्यहरूलाई स्थानीयरूपमा उपलब्ध बालीहरूको प्रयोग गरी बेकरी तथा मूल्य अभिवृद्धि भएका उत्पादनहरू बनाउन आवश्यक सीप प्रदान गर्नु थियो। यो तालिम कार्यक्रम प्रसंस्करण तथा खाद्य अभियान्त्रिकी विभागका पाठ्यक्रम निर्देशक डा. इन्दु र सह-पाठ्यक्रम निर्देशक डा. अङ्गमरालेङको मार्गदर्शनमा सञ्चालन गरिएको थियो। कार्यक्रममा उक्त कलेजका प्राविधिक कर्मचारीहरूको पनि सहयोग रहेको थियो।
कार्यक्रममा तीनवटा स्वयं सहायता समूहबाट जम्मा ४७ जना सहभागीहरूले दर्ता गरी सक्रियरूपमा भाग लिएका थिए। तालिम अन्तर्गत मफिन, कुकी, केक, मिलेट दूध, मल्टिग्रेन लड्डुलगायतका विभिन्न बेकरी परिकारहरूको तयारी सम्बन्धी प्रयोगात्मक (ह्यान्ड्स-अन) प्रदर्शन गरिएको थियो, जसले मिलेट जस्ता स्थानीय बालीहरूको पोषण तथा आर्थिक सम्भावनालाई उजागर गऱ्यो।
कार्यक्रमको समापन समारोह २३ स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नोर्बु लाम्थाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। साथै, लोअर नानडोककी पञ्चायत रिन्जिङ डोमा लेप्चा तथा दिव्य ज्योति समाजका सदस्यहरूको उपस्थिति रहेको थियो। समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो। अतिथिहरूले स्थानीय बालीहरूको मूल्य अभिवृद्धिमार्फत सीप विकास र जीविकोपार्जन प्रवर्द्धन गर्ने यस पहलको सराहना गरे।
हिन्दुस्थान समाचार / बिशाल