
वाराणसी, 17 मार्च (हि.स.)। शास्त्रीय तमिल केन्द्रिय संस्थान, चेन्नै तथा काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागको संयुक्त आयोजनामा कवयित्री अभैयरद्वारा १२औँ शताब्दीमा रचित तमिल भाषाको शास्त्रीय ग्रन्थ 'कोन्ड्रै वेन्डन' लाई भारतीय तथा विदेशी भाषाहरूमा अनुवाद शीर्षकको तीनदिने कार्यशालाको उद्घाटन कुलपति प्रो. अजित कुमार चतुर्वेदीद्वारा सम्पन्न भयो।
यस कार्यशालाको उद्देश्य तमिल कृति 'कोन्ड्रै वेन्डन' लाई तीसभन्दा बढी भारतीय भाषाहरू तथा सातभन्दा बढी विदेशी भाषाहरूमा अनुवाद गर्नु हो। 'कोन्ड्रै वेन्डन' तमिल भाषाको नैतिक तथा सामाजिक मूल्यसम्बन्धी प्रसिद्ध ग्रन्थ हो।
यस अवसरमा कुलपति प्रो. अजित कुमार चतुर्वेदीले काशी तमिल संगमको उल्लेख गर्दै तमिल भाषालाई प्राप्त शास्त्रीय भाषाको मान्यता तथा यसको प्रासङ्गिकताबारे प्रकाश पारे। उनले सामाजिक सञ्जालको माध्यमबाट विद्यार्थीहरूलाई भाषा अध्ययनतिर प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिए।
कला सङ्कायकी प्रमुख प्रो. सुषमा घिलडियालले कला सङ्कायलाई काशी हिन्दू विश्वविद्यालयको मातृ सङ्कायका रूपमा प्रस्तुत गर्दै विभिन्न भाषाहरूको पठनपाठनसम्बन्धी विस्तृत चर्चा गरिन्।
भारतीय भाषा विभागका अध्यक्ष प्रो. दिवाकर प्रधानले मन्तव्यमा भारतीय भाषाहरूको ऐतिहासिक महत्त्व तथा अनुवादको विस्तृत क्षेत्रबारे चर्चा गर्दै स्वागत भाषण राखे।
यसरी नै इतिहास विभागका आचार्य प्रो. गङ्गाधरणले तमिल साहित्यमा 'कोन्ड्रै वेन्ड्रन' को स्थान, महत्त्व र उपयोगिताविषयक बीज भाषण प्रस्तुत गरे।
अपराह्नको प्राविधिक सत्रमा फ्रान्सेली अध्ययन विभागकी आचार्या प्रो. वसुमति बद्रिनाथनले अनुवाद समस्या र समाधानका विमर्शसहित वरेण्य ग्रन्थका चयनित ग्रन्थहरूको भाषिक रूपान्तरणका कुञ्जी उद्घाटित गरिन्। ४० भाषाका प्रतिभागी अनुवादकहरूले परिचर्चामा भाग लिए। सबै अनुवाद शास्त्रीय तमिल केन्द्रिय संस्थानबाट प्रकाशित हुने तय छ। १८ र १९ अप्रेलका कार्यशालाका प्राविधिक सत्रमा ९१ पङ्क्तिमा पद अनुवाद गरिने योजना रहेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल