नगर पालिका चुनाउ: एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र


गान्तोक, 26 मार्च (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका सबै उम्मेदवारहरूले आगामी नगर पालिका चुनाउ 2026 का लागि मनोनयन पत्र बुझाएका छन्। एसकेएम पार्टीको छवटै जिल्लाका 63 जना उम्मेदवारहरूले आज एकैदिन आ-आफ्नो जिल्ला प्रशासनिक केन्द्रहरूमा मनोनयन पत्र बुझाए। यस अवधि पार्टी कार्यकर्ताहरू र समर्थकहरूको व्यापक उपस्थिति थियो।

नगरपालिका चुनाउ घोषणा भएलगत्तै एसकेएम पार्टीले नगर निगम र नगर परिषदलगायत सबै नगर पञ्चायतहरूका लागि सोही दिन उम्मेदवारहरूको घोषणा गरेको थियो। एसकेएम उम्मेदवारहरूले आज बिहान 10 बजीदेखि सबै शहरी स्थानीय निकायहरूमा मनोनयन पत्र बुझाउन शुरू गरेका थिए।

उल्लेखनीय छ, राज्य चुनाउ आयोगले गत 23 मार्चका दिन सिक्किममा नगरपालिका चुनाउ 2026 घोषणा गरेको थियो। गान्तोक नगर निगमका 21 वार्ड, नाम्ची नगर परिषदका 7 वार्ड, सिङताम नगर पञ्चायतका 5 वार्ड, नयॉं बजार जोरथाङ नगर पञ्चायतका 5 वार्ड, गेजिङ नगर पञ्चायतका 5 वार्डका, मङ्गन नगर पञ्चायतका 5 वार्ड, रम्फू नगर पञ्चायतका 5 वार्ड, पाकिम नगर पञ्चायतका 5 वार्ड र सोरेङ नगर पञ्चायतका 5 वार्डमा चुनाउ हुन लागिरहेको छ।

मनोनयन पत्र बुझाउने अन्तिम मिति 30 मार्च निर्धारित छ। मनोनयन पत्र जॉंच 1 अप्रेलमा हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल हो। यसैगरी, 24 अप्रेल बिहान 8 बजीदेखि सॉंझ 5 बजीसम्म मतदान हुनेछ। मतदानको भोलिपल्ट, 25 अप्रेल बिहान 8 बजीदेखि मतगणना शुरू हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande