स्वास्थ्य सेवाको क्षेत्रमा सिक्किम पूर्वोत्तरमै उत्कृष्ट: विधायक कला राई
विधायक कला राई


गान्तोक, 26 मार्च (हि.स.)। अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईले स्वास्थ्य क्षेत्रलाई वर्तमान सरकारले उच्च प्राथमिकता दिॅंदै यस क्षेत्रमा व्यापक सुधार ल्याउने काम गरेको बताएकी छन्। उनले स्वास्थ्य सेवाहरूको क्षेत्र सिक्किम पूर्वोत्तर राज्यकै उत्कृष्ट राज्य रहेको दाबी पनि गरेकी छन्।

विधायक राई आज सिक्किम विधानसभाको एक दिवसीय सत्रमा राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्तावमा बोल्दै थिइन्। यस अघि राज्यपाल ओमप्रकाश माथुरले सदनमा लेखानुदानमाथि आफ्नो अभिभाषण प्रस्तुत गरेका थिए। विधायक राईले 2019 मा एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा स्वास्थ्य सेवाहरूको क्षेत्रमा उल्लेखनीय कार्य भएको बताइन्। पहिलेको सरकारमा राज्यका जनताले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नु पर्ने स्थिति थियो भने तत्कालीन सरकारबाट पनि कुनै प्रकारको समर्थन नपाएको उनले आरोप लगाइन्।

अर्कातिर, वर्तमानमा राज्यका जनताले हर प्रकारका सुविधाहरू प्राप्त गरिरहेको दाबी गर्दै उनले यसको श्रेय मुख्यमन्त्री पीएस तामाङलाई दिइन्। उनले सिक्किममा उपलब्ध उत्कृष्ट स्वास्थ्य सेवाहरूका कारण आज छिमेकी दार्जिलिङ लगायत नेपाल र भुटानबाट पनि बिरामीहरू यहॉं उपचारको लागि आउने गरेको अवगत गराइन्। सिक्किम सरकारले अब आईवीएफ उपचार पनि शुरू गर्ने दिशामा काम गरिरहेको उनले बताइन्।

यसैगरी, विधायक सुदेश कुमार सुब्बाले सड़क पूर्वाधारलाई सुदृढ़ बनाउन वर्तमान सरकारले काम गरिरहेको बताउॅंदै यस पहलले राज्यमा पर्यटनलाई बढावा मिल्ने बताए। उनले निर्माणाधीन चिवाभञ्ज्याङ मार्गको उल्लेख गर्दै यो मार्गले राज्यमा पर्यटनका साथै व्यापार दुई देशबीचको सम्बन्धलाई पनि सुदृढ़ बनाउने विश्वास व्यक्त गरे।

यसै क्रममा विधायक इरुङ तेन्जिङ लेप्चाले वर्तमान सरकारमा हरेक क्षेत्रमा विकासका कार्यहरू भइरहेको बताए। पूर्वको सरकारमा 30 वर्षसम्म न्यायबाट वंचित रिन्छेनपोङ निर्वाचन क्षेत्रका जनताले वर्तमान सरकारमा न्याय पाइरहेको उनले दाबी गरे। उनले मुख्यमन्त्रीको दिशानिर्देशमा शुरू गरिएको 'कनेक्ट टु सिक्किम' पहलको पनि सराहना गरे।

विधायक आदित्य गोलेले एसकेएम सरकार गठन भएपछि सोरेङलाई जिल्ला बनाइएको र सोरेङ बजारमा आज नगर पालिका चुनाउ हुन लागिरहेको बताए। उनले सोरेङ आज विकासको दिशामा अग्रसर छ भन्दै विभिन्न विकासीय गतिविधिहरूमाथि प्रकाश पारे। यस अतिरिक्त, उनले सोरेङ जिल्लाका कतिपय गाउॅंहरूलाई भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत सामेल गर्न, सोरेङ फुटबल मैदानमा एस्ट्रो टर्फ लगाउन र जिल्लाका पुराना गुम्पाहरूलाई धार्मिक सर्किटमा सामेल गर्न माग पनि राखे।

विधायक सोनाम भेन्चुङ्गपाले आफ्नो सम्बोधनमा मार्तम रुम्तेक निर्वाचन क्षेत्रको पुरानो रुम्तेक गुम्पा लगायत क्षेत्रका पुराना गुम्पाहरूलाई पनि बुद्धिस्ट सर्किट योजनामा सामेल गर्न अनुरोध गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande