
सिलगढ़ी, 28 मार्च (हि.स.)। सिलगढ़ी महकुमाको फाँसीदेवा ब्लकमा गए शुक्रवार अबेर राती आएको तीव्र हुरी-बतासले ठूलो ध्वंस गऱ्यो। मात्र आधा घण्टाको हुरी-बतासले बिधान नगर क्षेत्रको बादलाकाटा, भरियाखाली, मधुपुर औ मिनी ढाकपाड़ा गाउँलाई पूर्ण रूपले प्रभावित पाऱ्यो।
स्थानीय प्रशासन अनुसार यस प्राकृतिक आपदामा 100 भन्दा अधिक घरहरू क्षतिग्रस्त भएका छन्। सबैभनदा अधिक प्रभाव मिनी ढाकपाड़ा गाउँमा भएको देखिएको छ जहाँका लगभग 40 वटा घरहरूको टीनको छानो उड़ायो जसले गर्दा ग्रामीणहरूमा सन्त्राष व्याप्त भएको छ।
हुन्डरीसितै आएको मुसलधारे पानी तथा असिना पानीले घरभित्र राखिएका सामान, खाद्य सामग्री तथा आवश्यक वस्तुहरूलाई पनि नोक्सान पुऱ्यायो। किसानहरूलाई पनि यसले ठूलो नोक्सान पुऱ्याएको छ। अनारस र मकैको फसल पूर्ण रूपमा बर्बाद भएको छ जसबाट किसानहरू समक्ष आजीविकाको संकट उत्पन्न भएको छ।
तीव्र हुरीको कारणले ठूलाठूला रूखहरू ढलेर बिजुलीको खम्बा र तारहरूलाई क्षति पुऱ्यायो। फलस्वरूप गाउँमा बिजुली आपूर्ति ठप्प भएको छ। हाल प्रभावित परिवार सरकारी सहयोगको प्रतिक्षामा बसेका छन्। प्रशासनले क्षय-क्षतिको मूल्यांकन गर्न शुरू गरेको छ साथै राहत कार्यलाई तीव्रता दिने कुरा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा