
गेजिङ, 30 मार्च (हि.स.)। गेजिङ नगर पञ्चायतको न्यू गेजिङ (ओबीसी) वार्डका लागि तीन जना स्वतन्त्र उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र बुझाएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आज जिल्ला चुनाउ अधिकारी तेन्जिङ डी. डेन्जोङ्गपा समक्ष आफ्ना मनोनयन पत्र बुझाए।
नगर पालिका चुनाउ 2026 अन्तर्गत आज मनोनयन पत्र बुझाउने अन्तिम दिन थियो। आज कुल तीन स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र बुझाए। तीनै जनाले गेजिङ नगर पञ्चायतको न्यू गेजिङ (ओबीसी) वार्डका लागि मनोनयन बुझाएका छन्। मनोनयन पत्र बुझाउने उम्मेदवारहरूमा बिष्णुलाल थापा छेत्री, सन्तोष शर्मा र तिलारुपा शर्मा सामेल छन्।
उल्लेख्य, न्यू गेजिङ वार्डका लागि खिनामाया तिवारीले अगावै मनोनयन पत्र बुझाइसकेकी छन्। यस अतिरिक्त, सेण्ट्रल गेजिङ (अनारक्षित) वार्डका लागि दुई उम्मेदवार सुमन मित्तल र बिष्णुमाया छेत्रीले मनोनयन पत्र बुझाएका छन्। गेजिङ नगर पञ्चायतका क्योङ्गसा (एसटी) ब्यादुङ (एससी) र नयॉं बजार (एसटी) वार्डका लागि केवल एक-एक उम्मेदवारले मात्र मनोनयन पत्र बुझाएका छन्।
मनोनयन पत्रको जॉंच आगामी 1 अप्रेलका दिन हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल, 2026 रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल