
नाम्ची, 30 मार्च (हि.स.)। नाम्ची जिल्लाको नाम्ची नगर परिषद (एनएमसी) र नयॉं बजार जोरथाङ नगर पञ्चायत चुनाउका लागि आज केवल एउटा मनोनयन पत्र बुझाइएको छ। उक्त मनोनयन पत्र एनएमसीको अप्पर घुर्पिसे वार्डका लागि भारतीय जनता पार्टीका उम्मेदवार साङ्गे भोटियाले बुझाएका छन्। उनले जिल्लाकी चुनाउ अधिकारी अनुपा तामलिङलाई आफ्नो मनोनयन पत्र बुझाए।
नगर पालिका चुनाउ 2026 का लागि आज मनोनयन पत्र बुझाउने अन्तिम दिन थियो। नाम्ची जिल्लाका लागि कुल 14 मनोनयन पत्र बुझाइएको छ। एनएमसीका 7 वार्ड मध्ये 9 मनोनयन पत्र तथा नयॉं बजार जोरथाङ नगर पञ्चायतका 5 वार्डका लागि 5 मनोनयन पत्र मात्र प्राप्त भएको छ।
उल्लेख्य, मनोनयन पत्रको जॉंच आगामी 1 अप्रेलका दिन हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल रहेको छ। यसैगरी, 24 अप्रेलका दिन मतदान हुनेछ भने 25 अप्रेल, 2026 का दिन मतगणना हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल