
आसनसोल, 04 मार्च (हि.स.)। होलीको पावन अवसरमा आसनसोलको कुल्टी क्षेत्रमा फेरि एक पटक तनावपूर्ण स्थिति सिर्जना भयो। कुल्टीको वार्ड नम्बर 68 को करीम दंगल क्षेत्रमा बम विस्फोट, कथित गोलीबारी र ढुङ्गा हानाहानले सम्पूर्ण क्षेत्र अशान्त बन्यो। यो घटनाले स्थानीयवासी आतंकित भएका छन्।
प्रत्यक्षदर्शीहरू अनुसार, केही युवकहरूले कथित रूपमा उक्त क्षेत्रमा हंगामा मच्चाइरहेको र मस्जिदमा तोडफोड गरिरहेको आरोप छ। मस्जिद बाहिरको डस्टबीनहरू पनि क्षतिग्रस्त भएको बताइएको छ। स्थानीय बासिन्दाहरूले विरोध गर्दा विवाद बढ्यो। बम विस्फोट, ढुङ्गा हानाहान र कथित गोलीबारीले क्षेत्रमा अराजकता सिर्जना गऱ्यो र स्थिति हिंसक भयो। घटनाको जानकारी पाएपछि कुल्टी र बराकर थानाबाट भारी पुलिस बल घटनास्थलमा पुग्यो। हाल क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ र स्थितिको निगरानी भइरहेको छ।
यस घटनालाई लिएर राजनीतिक बयानबाजी पनि शुरु भएको छ, जसमा तृणमूल कांग्रेस र भारतीय जनता पार्टीले एकअर्कालाई दोष लगाएका छन्।
ज्ञात होस्, पश्चिम बंगालमा विशेष संक्षिप्त पुनरीक्षण (एसआइआर) प्रक्रिया हालै सम्पन्न भएको छ र विधानसभा चुनाउहरू चाँड़ै घोषणा हुने अपेक्षा गरिएको छ। चुनाउको पूर्वानुमानमा राज्यमा केन्द्रिय बलहरू तैनाथ गरिएको छ, विभिन्न थाना क्षेत्रहरूमा पुलिससँग संयुक्त रुट मार्चहरू सञ्चालन गरिरहेको छ। यस समयमा यस प्रकारको घटनाले चुनाउपूर्व सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
प्रशासनले जनतालाई शान्ति कायम राख्न अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी