जनआकांक्षा पूरा गर्नु सरकारको संकल्प, शिक्षा-स्वास्थ्य-खेल प्रमुख क्षेत्र : मोदी
PM Modi


नयाँ दिल्ली, 09 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशका जनताका आकांक्षाहरू पूरा गर्नु उनको सरकारको मूल संकल्प रहेको बताए। उनले भने, शिक्षा, कौशल विकास, स्वास्थ्य, पर्यटन, खेलकुद र संस्कृति जस्ता क्षेत्रहरू यी आकांक्षाहरूलाई साकार पार्ने प्रमुख माध्यम हुन्। उनले शिक्षा प्रणालीलाई वास्तविक अर्थतन्त्रसँग जोड्ने प्रक्रियालाई तीव्र बनाउन तथा कृत्रिम बुद्धिमत्ता र अटोमेसन जस्ता विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकताामा जोड दिए।

प्रधानमन्त्री मोदी ‘सबका साथ, सबका विकास, जन आकांक्षाको पूर्ति’ विषयमा आयोजित बजेटपछिको वेबिनार श्रृंखलाको चौथो चरणलाई सम्बोधन गर्दै थिए। यस वेबिनारमा विभिन्न मन्त्रालय तथा विभागका अधिकारीहरू, निजी क्षेत्रका विशेषज्ञहरू र नीतिनिर्माताहरूले पनि भाग लिएका थिए। प्रधानमन्त्रीले जनताको आकांक्षा पूरा गर्नु केवल एउटा विषय मात्र नभई सरकारको बजेटको मूल उद्देश्य र प्रतिबद्धता रहेको बताए।

उनले शिक्षा, कौशल, स्वास्थ्य, पर्यटन, खेलकुद र संस्कृति क्षेत्रमा भइरहेको लगानी र सुधारहरूले देशको विकासलाई नयाँ दिशा दिने बताए। यी क्षेत्रमार्फत युवाहरूका लागि अवसरहरू बढ्ने र देशको अर्थतन्त्र पनि सुदृढ़ हुने उनले उल्लेख गरे।

स्वास्थ्य क्षेत्रको चर्चा गर्दै प्रधानमन्त्रीले सरकारको लक्ष्य केवल उपचारमा आधारित प्रणालीसम्म सीमित नभई व्यापक तथा रोकथाममुखी स्वास्थ्य प्रणाली निर्माण गर्नु रहेको बताए। पछिल्ला केही वर्षमा देशको स्वास्थ्य पूर्वाधारलाई तीव्र रूपमा मजबुत बनाइएको र योग तथा आयुर्वेदले विश्वस्तरमा व्यापक स्वीकार्यता पाएको उनले बताए।

उनले देशका सयौँ जिल्लामा नयाँ मेडिकल कलेज खोलिएको र आयुष्मान भारत योजना तथा ‘आरोग्य मन्दिर’ जस्ता पहलमार्फत आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गरिएको जानकारी दिए। उनले ‘केयर इकनोमी’ को बढ्दो महत्वको पनि उल्लेख गर्दै विश्वभर प्रशिक्षित हेरचाहकर्मीहरूको माग तीव्र रूपमा बढिरहेको बताए। यस क्षेत्रमा युवाहरूलाई तयार पार्न नयाँ प्रशिक्षण मोडेल विकास गर्न स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूलाई सुझाउ दिन आग्रह गरे।

डिजिटल स्वास्थ्य सेवाबारे बोल्दै प्रधानमन्त्रीले टेलिमेडिसिनले दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। तर यी सेवाहरूलाई अझ सरल बनाउनु र जनचेतना बढाउनु आवश्यक रहेकोमा उनले जोड दिए।

शिक्षा क्षेत्रबारे बोल्दै उनले भारतका युवाहरूको बदलिँदो सोच र ऊर्जा देशको सबैभन्दा ठूलो शक्ति रहेको बताए। त्यसैले शिक्षा प्रणालीलाई पनि सोही अनुरूप विकास गर्नुपर्ने उनले उल्लेख गरे। नयाँ शिक्षा नीतिमार्फत शिक्षालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने प्रयास भइरहेको उनले बताए।

प्रधानमन्त्रीले भने, आगामी समयमा शिक्षालाई वास्तविक अर्थतन्त्र र बजारको मागसँग जोड्नु अत्यन्त आवश्यक हुनेछ। उनले विशेष गरी कृत्रिम बुद्धिमत्ता, अटोमेसन र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा पाठ्यक्रम र तालिमलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

एवीजीसी (एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स) क्षेत्रको चर्चा गर्दै उनले भारत तीव्र रूपमा नवप्रवर्तनमा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको बताए। उनले शैक्षिक संस्थाहरूलाई उद्योगसँग सहकार्य र अनुसन्धानमा आधारित शिक्षणका केन्द्रका रूपमा विकास गर्न आह्वान गरे, ताकि विद्यार्थीहरूले वास्तविक संसारको अनुभव प्राप्त गर्न सकून्।

प्रधानमन्त्रीले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा महिलाहरूको बढ्दो सहभागिताप्रति सन्तोष व्यक्त गरे। भविष्यका प्रविधिहरूमा छोरीहरूलाई समान अवसर दिन सरकार प्रतिबद्ध रहेको उनले बताए। साथै, युवा अनुसन्धानकर्ताहरूलाई नयाँ विचारहरूमा प्रयोग र नवप्रवर्तन गर्न अवसर दिने बलियो अनुसन्धान वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

खेलकुदको महत्वबारे चर्चा गर्दै मोदीले स्वस्थ र अनुशासित युवा कुनै पनि राष्ट्रको शक्ति भएको बताए। ‘खेलो इन्डिया’ कार्यक्रममार्फत साना शहर र दुर्गम क्षेत्रबाट प्रतिभा पहिचान गरी अघि बढाउने प्रयास भइरहेको उनले बताए।

अन्तरराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शनका लागि अहिलेबाटै युवा खेलाडीहरूलाई तयार पार्नु आवश्यक रहेको उनले बताए। साथै खेल संगठनहरूलाई अझ व्यावसायिक बनाउने र खेलाडीहरूका लागि संरचित आर्थिक सहयोग बढाउनुपर्ने आवश्यकता उनले औंल्याए, ताकि आगामी राष्ट्रमण्डल खेल र ओलम्पिक जस्ता प्रतियोगितामा भारतको प्रदर्शन अझ राम्रो होस्।

पर्यटन र संस्कृतिमा रोजगारीका ठूलो सम्भावना रहेको उल्लेख गर्दै मोदीले परम्परागत पर्यटनस्थलसँगै नयाँ पर्यटन केन्द्रहरू विकास गर्न ध्यान दिइएको बताए। यसले शहरहरूको पहिचान मजबुत बनाउनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि गति दिनेछ।

उनले पर्यटन क्षेत्रमा प्रशिक्षित गाइड, राम्रो आतिथ्य कौशल, डिजिटल कनेक्टिभिटी र स्थानीय समुदायको सहभागिता महत्वपूर्ण आधार बन्ने बताएका छन्। साथै सरसफाई र दिगो विकासका सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने पनि उनले बताए।

प्रधानमन्त्रीले संस्थान, उद्योग र शिक्षाविद्हरूबीच राम्रो समन्वय भए देशको प्रगति अझ तीव्र हुने विश्वास व्यक्त गरे। उनले यस वेबिनारमा भएका छलफलहरूले भविष्यका लागि ठोस मार्गदर्शन दिने र विकसित भारत निर्माणको बलियो आधार तयार पार्ने विश्वास व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande